ललितपुर, जेठ २४ । ललितपुर महानगरपालिका नगरप्रहरीले सेवा सुविधाबारे जानकारी दिन तथा विकास निर्माण र कर व्यवस्थापनलाई नागरिकमैत्री बनाउन घरघरमा नगरप्रहरी अभियान सुरु गरेको छ ।
“ललितपुरको समृद्धि र सुशासनको आधार, सम्पदा, संस्कृतिसहितको स्मार्ट सेवा र पूर्वाधार” भन्ने नाराका साथ आफ्ना गतिविधिहरू, विकास निर्माणका काम र सामाजिक काम गर्दै आएको सुन्दर ललितपुर नगरी, घरघरमा नगरप्रहरी परिचालन अभियान आजबाट सुरु भएको हो ।
ललितपुरले सुरु गरेको यो अभियान देशकै नयाँ नौलो भएको दाबी गर्दै महानगर प्रमुख चिरीबाबु महर्जनले यस अभियानले बहुआयामिक महत्व कायम गर्ने धारणा राख्नुभयो ।
“निर्वाचन जितेर जनप्रतिनिधि जनताको घरदैलोमा पुग्न नसकेको अवस्थामा घरघरमा पुगेर त्यसको रिक्ततालाई मेट्दै उनीहरुको सेवा, सुविधा र सहयोगमा थप मद्दत पु¥याउने छन् भन्ने हाम्रो विश्वास छ, वडा अध्यक्षलाई पनि काम गर्न सहज हुनेछ”, उहाँले भन्नुभयो ।
अभियानमा भएका राम्रा नराम्रा अनुभव, गतिविधि तथा सुधार गर्नुपर्ने पक्षलाई समेटेर नगरप्रहरी प्रमुखले प्रत्येक हप्ताको जानकारी महानगर प्रमुखलाई गराउने व्यवस्थापन भएको उहाँले जानकारी गराउनुभयो । यो अभियानमा नेपाल प्रहरीलगायतका सुरक्षा निकायसँग सहकार्य गरिने जानकारी गराउनुहुँदै नगरप्रमुख महर्जनले नगर प्रहरीको कामबाट विगतमा नगरवासीबाट आउने गुनासोमा ७० प्रतिशत कम भएको बताउनुभयो ।
उहाँले नगरप्रहरीकै सक्रियतामा सडकको सरसफाइ र वृक्षरोपण गरिएका बोटबिरुवाको संरक्षण र त्यसमा नियमित पानी दिएर सहरलाई सुन्दर बनाउन काम गर्दै आएको जानकारी गराउनुभयो । वृक्षरोपण गरिएका बोटबिरुवा संरक्षणका लागि प्रोत्साहन र दण्ड र जरिवानाको नीतिलाई पनि महानगरले अवलम्बन गर्दै आएको बताउँदै विगतमा बोटबिरुवा मास्ने एक जनालाई रु एक लाख र अर्कालाई रु १५ हजार जरिवाना गरिएको जानकारी गराउनुभयो ।
एक जनाको फाइदाका लागि धेरैको ज्यान जोखिममा राख्न सकिन्न भन्दै प्रमुख महर्जनले वातावरण प्रहरी परिचालन गरेर सवारीसाधनको धुँवा परीक्षण गर्ने र मापदण्डअनुसार नभए तत्कालै कारबाहीका लागि पठाइने व्यवस्था मिलाइने बताउनुभयो । नगरप्रहरी परिचालनले नगरबासीको दिनचर्या र धार्मिक तथा सामाजिक काममा सहजीकरण हुने विश्वास व्यक्त गर्नुभयो ।
जिल्ला प्रहरी कार्यालय ललितपुरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) शेखर खनालले संस्कृति र सम्पदा संरक्षणमा ललितपुरको नगरप्रहरीले गरेका काम उत्कृष्ट रहेको भन्दै ललितपुर प्रहरीले नगरप्रहरीसँग मिलेर धेरै राम्रो काम सम्पादन गर्न सकेको बताउनुभयो ।
उहाँले घरघरमा नगरप्रहरीसँगै समुदायमा प्रहरी कार्यक्रमलाई पनि संयुक्तरूपमा जोडेर काम गर्न सकियो भने अपराध नियन्त्रण र विपद् व्यवस्थापन काम गर्न सकिने बताउनुभयो । उहाँले ललितपुरलाई संसारकै सुरक्षित र भयमुक्त समाज निर्माण गर्न सम्भव छ भन्नुहुँदै अपराध नियन्त्रण र शान्ति सुरक्षा कायमका लागि सूचना आवश्यक भएको बताउनुभयो ।
ललितपुर चेम्बर अफ कमर्शका अध्यक्ष पुष्परत्न शाक्यले यस अभियानले महानगरबाट प्रवाह हुने सेवा थप प्रभावकारी हुने भन्दै नागरिकको अपेक्षा सम्बोधन गर्न सम्भव हुने बताउनुभयो ।
महानगरका नीति, नियम, कर व्यवस्थापनका कानुन, विकासका विषयमा जानकारी दिन महानगरमा रहेका एक लाखभन्दा बढी घरमा नगरप्रहरी परिचालन हुने नगरप्रहरी प्रमुख सीताराम हाछेथुले जानकारी गराउनुभयो । अहिले ललितपुर महानगरले एम्बुलेन्स, शवबहान, ढल निकासको सरसफाइका लागि जेटिङ मेसिनको सेवा निःशुल्क उपलब्ध गराउँदै आएको छ ।
---