Kath khabar
टि–२० विश्वकप : विश्वकपको पूर्वविजेता पाकिस्तान अमेरिकासँग पराजित


                       काठमाडौं, जेठ २५ । आइसिसी टि–२० विश्वकपको पूर्वविजेता पाकिस्तान सुपरओभरमा अमेरिकासँग पराजित भएको छ ।
 
अमेरिकाको डालसस्थित ग्राण्ड प्रेरी क्रिकेट रङ्गशालामा गए राति सम्पन्न समूह ‘ए’को खेलमा दुवै टोलीले बराबर खेलेपछि खेल सुपरओभरमा पुगेको थियो । डालासमा घरेलु टोली अमेरिकाले पाकिस्तानलाई जितको लागि १९ रनको लक्ष्य दिएको थियो । पाकिस्तान १३ रनमा समेटिएपछि अमेरिका विजयी भएको हो ।
 
टस हारेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ६० रनको लक्ष्य प्रस्तुत गरेको थियो । अमेरिकाले २० ओभरमा तीन विकेट गुमाएर बराबर गर्यो।  अमेरिकाका लागि कप्तान मोनाङक पटेलले सर्वाधिक ५० रन बनाए । उनले ३८ बलमा सात चौका र एक छक्काको सहायताले सर्वाधिक ५० रन बनाएका थिए । त्यस्तै आरोन जोनेसले ३६ र आन्द्रेस गौसले ३५ रन बनाएका थिए । पाकिस्तानका मोहम्मद आमिर, नसिम साह र हरिस रौफले समान एक–एक विकेट लिए ।

त्यसअघि पाकिस्तानको लागि कप्तान बाबर आजमले ४३ बलमा ४४ रन बनाए । त्यस्तै सादव खानले २५ बलमा ४० रन बनाए भने साहिन शाह अफ्रिदीले २३ रन जोडे । अमेरिकाका नोष्थुश केजिङ्गेले तीन विकेट लिए भने सौरभ नेत्रवालकरले दुई विकेट झारे । त्यस्तै अली खान र जसदीप सिंहको नाममा समान एक–एक विकेट रह्यो ।
–––

 

प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१  १०:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update