काठमाडौं, जेठ २५ । कान्तिपुर मिडिया ग्रुपका सञ्चालक कैलाश सिरोहियाका छोरा तथा उक्त मिडियाका प्रबन्ध निर्देशक सम्भव सिरोहियाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूविरुद्धका समाचार लुकाउन दबाब दिएको आरोप लगाएका छन् ।
आज बिहान सामाजिक सञ्जाल एक्स मार्फत एक भिडिओ सन्देश जारी गर्दै उनले सहकारीको बचत रकम अनियमितताबारे कान्तिपुरले लगातार समाचार लेख्न थालेपछि समाचार लुकाइदिन तथा मिलाइदिनको लागि लामिछानेले धेरैपटक आग्रह गरेको र सो आग्रह नमानेकोले अध्यक्ष सिरोहिया पक्राउ परेको उनले दाबी गरेका छन् । गृहमन्त्रीको अनुरोधमा कान्तिपुरले सेटिङ नगरेको भएर उनी तल्लो स्तरमा झर्दै गृहमन्त्रीको पदलाई दुरुपयोग गरेर झुठो केशमा फसाएको उनले भिडियोमा उल्लेख गरेका छन् ।
सिरोहियाले भिडियोमा आफ्नो बुबा कैलाशले वंशजको नागरिकता कसरी पाएको भन्ने विषयमा खुलाएका छन् । कैलाश सिरोहियाका दाइहरू जन्मदा हजुरबुवाले नेपाली नागरिकता प्राप्त गरिनसकेको तर नौ जना मध्येका कान्छा छोरा कैलाश सिरोहिया जन्मदा हजुरबुवाले नेपाली नागरिता प्राप्त गरिसकेकोले कैलाश सिरोहियाको नागरिकता बंशजमा जारी भएको उनले बताएका छन् । यति सरल कुरालाई हल्लाबाजी गरिएको भन्दै उनले आक्रोश पोखेका छन् ।
‘समयले नै सत्य के हो देखाउँला । त्यतिबेलासम्म कान्तिपुरले लेख्नुपर्ने समाचार लेखिराख्छ,’ उनले भनेका छन् । उनले जारी गरेको भिडियोमा कमेन्ट सेक्सन अफ गरिएको छ ।
My statement. pic.twitter.com/i23oyIVidn
— SambhavSwarSirohiya (@swarsirohiya) June 7, 2024