काठमाडौं, जेठ २५ । काठमाडौंको नक्सालस्थित बाल मन्दिर जग्गा दुरुपयोग मुद्दामा बाल संगठनका पूर्व उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले श्रेष्ठलाई शुक्रबार काठमाडौंबाट पक्राउ गरेको हो ।
यसअघि बालमन्दिरको जग्गा भाडामा लिएको अभियोगमा काठमाडौं जिल्ला अदालतले २० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । उक्त जग्गामा संस्थाका पूर्व पदाधिकारीहरुको संलग्नतामा व्यवसायिक गतिविधि गरेको अभियोगमा अनुसन्धानका लागि श्रेष्ठलाई पक्राउ गरिएको सिआइबीले जनाएको छ ।
नेपाल बाल संगठनलाई हानी नोक्सानी पुर्याउने उद्देश्यले २०४९ देखि २०७२ सालसम्म पटकपटक न्यून रकममा सम्झौता गरेको, २०८९ मा सकिने सम्झौता समेत बदनियत रुपमा म्याद समाप्त नभई नवीकरण गरेको, औपचारिक जाहेरी नपरे पनि ब्यूरोले यसबारे अनुसन्धान गरिरहेको थियो ।
काठमाडौंको नक्सालमा रहेको करिब २९ रोपनी जग्गा वार्षिक १ करोड ९ लाख रुपैयाँ तिर्ने गरी (पछिल्लो सम्झौताअनुसार) लिजमा दिइएको थियो । लिजमा लिने जोशी परिवार र विशाल ग्रुप रहेका छन् ।