काठमाडौं, जेठ २७ । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ।
कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी, कर्णाली र सदूररपश्चिम प्रदेशका थोरै स्थानहरुमा हावा हुरीको पनि सम्भावना रहेको छ ।
राती कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशको थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
आगामी केही दिन सम्म तराईका भू-भागहरूमा अत्यधिक गर्मी तथा तातो हावाको लहरको सम्भावना रहेको सम्भावना रहने हुनाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानहरूमा बिगत केही दिन देखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको छ ।