Kath khabar
वेस्ट इन्डिज पुगेर सन्दीपले दिए सबैलाई धन्यवाद, भने- सपना पूरा गर्न तत्पर छु

 

                 काठमाडौं, जेठ २८ । क्रिकेटर सन्दीप लामिछाने टी–२० विश्वकपमा सहभागी हुन वेस्ट इन्डिज पुगेका छन् । सन्दिपले विश्वकप खेल्ने प्रेस विज्ञप्ति क्यानले जारी गरिसकेपछि उनले सामाजिक सञ्जालमार्फत आफू वेस्ट इन्डिज पुगेको जानकारी गराएका हुन् ।

उनले वेस्ट इन्डिजमा अन्तिम दुई खेलका लागि राष्ट्रिय टोलीमा आफू आबद्ध भएको र आफ्नो सपना र सबै क्रिकेट प्रेमीहरूको सपना पूरा गर्न आफू तत्पर भएको बताएका छन् ।

आफूलाई सहयोग गर्ने सबैलाई ध्नयवाद उनले दिएका छन् । उनले भनेका छन् - 'दूर्भाग्यवश प्रयास सफल हुन नसकेपनि अमेरिकाको भिसा प्राप्त गर्न सहयोग गरेकोमा नेपाल सरकार, परराष्ट्र मन्त्रालय, खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् र नेपाल क्रिकेट संघ (क्यान) लाई धन्यवाद दिन चाहन्छु।'

आइसीसी र सबै सम्बन्धित आधिकारिक नेटवर्कहरूसँगको समन्वयमा मलाई यो टि२० विश्वकपमा भाग लिन सम्भव बनाउने हाम्रा अध्यक्ष चतुरबहादुर चन्द सर, सचिव तथा मेरा प्यारा भाइ पारस खड्का दाई, मेरा वकिल सरोज के घिमिरे दाई, विनोद दास दाई, प्रबल गौतम दाई र प्रिय बालकृष्ण लामिछाने दाईलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।

आफ्नो पुनरागमनलाई सम्भव तुल्याउने क्यानका महत्वपूर्ण व्यक्तित्वहरूको नाम जोडेर भएका झूटा प्रचारले आफू निराश बनेको उनले बताएका छन् । त्यस्ता कुराहरुको पछि नलाग्न पनि सबैलाई अनुरोध गरेका छन् । 'कृपया मेरो भिसा सम्बन्धी सबै झूटा प्रचारमा विश्वास नगर्नुहोला जुन मानिसहरूले क्यान र नेपाल क्रिकेटको छविलाई कलंकित गर्न प्रयोग गरिरहेका छन्', उनले भनेका छन् ।

उनले सबै क्रिकेट फ्यानहरू र उनको लागि प्रार्थना गर्ने सबैको आशीर्वादको लागि आभारी रहने बताउँदै अब झन पहिले भन्दा बढी सबैको आशिर्वाद चाहिने बताएका छन् ।

प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  १२:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update