काठमाडौं, जेठ २८ । सेञ्चुरी बैंक घोटाला प्रकरणमा तत्कालीन अध्यक्ष राजेश कुमार श्रेष्ठसहित आठ जना पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ठगीको मुद्दामा अनुसन्धानका लागि सेञ्चुरीका तत्कालीन अध्यक्ष श्रेष्ठ सहित सुनिलकुमार न्यौपाने, प्राडा गीता प्रधान, रमेश कुमार निरौला, रणबहादुर श्रेष्ठ, राजेश कुमार दली, उमाकुमारी श्रेष्ठ र शिवगोपाल रिसाललाई पक्राउ गरेको जानकारी दिएको छ ।
यसअघि कमसल धितोमा बढी कर्जा प्रवाह गरेको आरोपमा २०८० फागुन १५ गते तत्कालीन सेञ्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज न्यौपाने र तुलसी गौतमसहितका ११ जना कर्मचारीहरु पक्राउ परेका थिए । देउराली सहकारी र रवीन्द्र चौलागाईँका विभिन्न कम्पनीलाई कमसल धितोकै आधारमा बैंकबाट कर्जा प्रवाह गरी घोटाला गरेको आरोप अध्यक्ष श्रेष्ठ सहितका व्यक्तिहरुमाथि रहेको छ ।
यो समुहले सेञ्चुरी बैंकमा रहँदा कमसल धितोमा दुई अर्ब ११ करोड ६५ लाख ५५ हजार रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको देखिएको छ । उक्त ऋण धितोभन्दा ९७ करोड ४१ लाख ७० हजार ७ सय ७२ रुपैयाँले बढी पाइएको सीआईबीको दाबी थियो । उनीहरु २०८० चैतमा हाजिर जमानीमा छुटेका थिए ।