काठमाडौं, जेठ २८ । मुलुकमा पछिल्लो समय कुल वस्तु निर्यात घटेको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी चालु आर्थिक बर्षको १० महिनाको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०/८१ को १० महिनामा कुल वस्तु निर्यात तीन दशमलव छ प्रतिशतले घटेर एक खर्ब २६ अर्ब १७ करोड कायम भएको छ ।
राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा २४ दशमलव पाँच प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः पाँच दशमलव छ प्रतिशत र एक दशमलव चार प्रतिशतले कमी आएको छ भने चीनतर्फको निर्यात ६८ दशमलव एक प्रतिशतले वृद्धि भएको छ ।
वस्तुगत आधारमा जिंक शिट, पार्टिकल बोर्ड, जुस, तयारी पोसाक, पिना लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, सोयाविन तेल, ऊनी गलैचा, चिया, ब्रान्स लगायतका वस्तुको निर्यात घटेको छ । आर्थिक वर्ष २०८०/८१ को दश महिनामा कुल वस्तु आयात दुई दशमलव चार प्रतिशतले कमी आई १३ खर्ब तीन अर्ब ३६ करोड कायम भएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १६ दशमलव छ प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत र अन्य मुलुकबाट भएको आयात क्रमशः तीन दशमलव चार प्रतिशत र २० दशमलव आठ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात ३४ दशमलव चार प्रतिशतले बढेको छ ।
वस्तुगत आधारमा सवारी साधन तथा स्पेयर पार्टपुर्जा, तयारी पोशाक, हवाइजहाजको स्पेयर पार्टपुर्जा, विद्युतीय उपकरण, लत्ताकपडा लगायतका वस्तुको आयात बढेको छ भने कच्चा सोयाविन तेल, सुन, हट रोल्ड शिट इन क्वायल, कच्चा पाम तेल, धान तथा चामल लगायतका वस्तुको आयात घटेको छ ।
निर्याततर्फ भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, मेची, नेपालगञ्ज, रसुवा तथा तातोपानी बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्फ सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, नेपालगञ्ज, रसुवा तथा तातोपानी भन्सार कार्यालय बाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ ।
आर्थिक वर्ष २०८०/८१ को दश महिनामा कुल वस्तु व्यापार घाटा दुई दशमलव तीन प्रतिशतले कमी आई ११ खर्ब ७७ अर्ब १८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १५ दशमलव नौं प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात नौं दशमलव सात प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात नौं दशमलव आठ प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी एक खर्ब २२ अर्ब २ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात एक खर्ब १९ अर्ब ६० करोड बराबरको भएको थियो ।