काठमाडौं, जेठ ३० । सशस्त्र प्रहरी बलले पर्सास्थित वीरगञ्ज महानगरपालिका–१९ बर्वा लगायत वीरगञ्जको विभिन्न ठाउँबाट मंगलबार राती अवैध गोदाममा छापा मारेर ४४ लाख बढिको अवैध सामान नियन्त्रणमा लिएको छ ।
प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्ज बाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालको कमान्डमा खटिएको सुरक्षा फौजले वीरगञ्ज भन्सार कार्यालयका कर्मचारी समेतको उपस्थितिमा अवैध रुपले राखिएको गोदाममा छापा मारेर सौन्दर्य क्रिम, मुङ दाल, मोटर पार्टस् तथा अन्य अवैध सामान बरामद गरेको हो ।
बरामद सामानमा १४ लाख ५९ हजार २ सय रुपैयाँ बराबरको लेक्मी ब्राण्डको क्रिम १४ हजार ५ सय ९२ पिस, सोही ब्राण्डको ८ लाख ६ हजार ४ सय रुपैयाँ बराबरको १६ हजार १ सय २८ पिस क्रिम रहेको छ । यस्तै मानिस कोही नबस्ने सोही महानगरपालिकाको अर्को एक ठाउँबाट एक घरमा अवैध रुपले गोदाम गरी राखिएको ६ लाख रुपैयाँ बराबरको ३ हजार किलो दाल समेत बरामद भएको छ ।
यसैगरी मंगलबार राती नै सोही गुल्मले वीरगञ्ज महानगरपालिका–१० बाट अवैध रुपमा राखिएको ११ लाख रुपैयाँ बराबरको मोटर पार्टस् र १० लाख ७५ हजार मूल्य बराबरको किराना सामान समेत बरामद गरेको छ । बरामद सामान बुधबार बिहान आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वीरगन्ज भन्सार कार्यालय पर्सामा बुझाइएको छ ।
यसैबीच पछिल्लो एक हप्ताको बिचमा सशस्त्र प्रहरी बल नेपालका विभिन्न युनिटले करिब ३ करोड मूल्य बराबरको अवैध सामान बरामद गरी आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाएको छ ।