काठमाडौं, जेठ ३१ । यही शुक्रवार रिलिज हुने नेपाली चलचित्र ‘बाटोः रोड टु डेथ’ को बुधवार साँझ भव्य प्रिमियर शो आयोजना गरिएको छ । ललितपुरको पुल्चोकस्थित लबिम मलमा रहेको क्यूएफएक्स सिनेमामा आयोजित प्रिमियरमा चलचित्रको टिम, सेलिब्रेटीहरू, शुभचिन्तकहरू तथा पत्रकारहरूको उपस्थिति थियो ।
चलचित्रको प्रिमियर इभेन्टलाई वि.सं. २०३५ सालदेखि सक्रिय राठी ग्रुपको एढेसिभ उत्पादन राठीकोलले बोन्डिङ पार्टनरको रूपमा प्रायोजन गरेको थियो । प्रिमियरमा राठी ग्रुपका अध्यक्ष अरुण कुमार राठी, राठी कोलका सिईओ योगेश राठी, सेल्स एन्ड मार्केटिङका एचओडी रिदम शाह लगायत उपस्थित थिए । अध्यक्ष राठीले चलचित्र क्षेत्रमा पहिलो पटक जोडिएर काम गर्न पाउँदा गर्व महसुस गरेको र आगामी दिनमा पनि यस क्षेत्रमा कुनै न कुनै बहानामा जोडिइरहने प्रतिबद्धता व्यक्त गरे ।
नेपाली, तमिल, तेलुगु र हिन्दी गरी चार भाषामा बनेको यस चलचित्रका लेखक, सम्पादक तथा निर्देशक मदन थापाले प्रिमियरमा यो चलचित्र हेर्ने गति सबैले प्रशंसा गरेको बताए । उनले यस्तै प्रशंसा नेपाली दर्शकहरूबाट पनि पाउनेछु भन्ने आशा आफूले लिएको बताए । उनले भने, “नेपाली चलचित्रको स्ट्याण्डर्डलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने मेरो चाहना छ । आजकल दर्शक फिल्ममेकर बन्दा निकै अगाडि हुनुहुन्छ, त्यसकारण पनि हामीले चलचित्र राम्रो नै बनाउनु पर्छ ।”
चलचित्रका अभिनेता सुलक्षण भारतीले यो चलचित्रमा निर्देशकले एउटा नयाँ संसार निर्माण गरेको बताए । उनले यस प्रकारको चलचित्र नेपालमा यसअघि नबनेको बताए । अर्का अभिनेता उत्पल झाले लामो समयको प्रतीक्षापछि चलचित्र रिलिज हुन लागेकोमा खुसी व्यक्त गरे । अभिनेत्री रक्षा थापाले यो चलचित्रमा एकदमै धेरै भावना जोडिएको बताइन् । उनले ‘बाटो’ हेर्दा चलचित्र सकिएको थाहा नै नहुने बताइन् । अभिनेत्री मिथिला शर्माले यस चलचित्रमा आफूलाई अभिनयको लागि लिएकोमा निर्माता र निर्देशकलाई धन्यवाद दिइन् ।
अहिलेसम्म नेपालमा बनेका चलचित्रहरू मध्ये बिल्कुल फरक बनेको र यो चलचित्रले दर्शकलाई एउटा बाटोमा डो¥याउन सफल रहने प्रतिक्रिया प्रिमियर शो पछि प्रतिक्रिया दिँदै सहभागीले बताए । प्राविधिक रूपमा अत्यन्त गहन तरिकाले काम भएको र हरेक कलाकारको काम उत्कृष्ट रहेको प्रिमियरमा सहभागीले जनाए ।
काठमाडौं फिल्म्सको ब्यानरमा बनेको यस चलचित्रका निर्माता चन्दन झा हुन् । यसलाई दक्षिण भारतीय फिल्म उद्योगका छायाकार शरण ऋषिले छायाङ्कन गरेका छन्। चलचित्रका लाइन प्रोड्युसरहरू शंकर कार्की, प्रकाश हमाल र दिनेश प्रकाश महरा हुन् भने कार्यकारी निर्माताहरू रणधीर कुमार झा, अश्विनी घिमिरे, सदिक्षा महर्जन, नवीन अवाल, आकाङ्क्षा बस्नेत र विशाखा विक्रम थापा हुन् । त्यस्तै, सह निर्माताहरू विक्रम चौधरी, आशिम मैनाली, टोनी हरजानी, शालिनी पोद्दार, नम्रता जीआर राउत र स्मृति झा हुन् ।
चलचित्रमा मिथिला शर्मा, सुलक्षण भारती, रक्षा थापा, उत्पल झा, पशुपति राई, किरण शाही, गणेश उपाध्याय, आभास अधिकारी, राजेन थापा, विजय आनन्द ताम्राकार, आशान्त शर्मा लगायतका कलाकारहरूको अभिनय रहेको छ । जेठ ३२ गते नेपालभर रिलिज हुने यस चलचित्रलाई डिसिएनले वितरण गर्दैछ ।