मध्यविन्दु (नवलपरासी), जेठ ३१ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) कावासोतीमा नाला निर्माणका लागि खाल्डो खन्ने क्रममा पुरिएर आज तीन मजदुरको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत कावासोती नगरपालिका-२ स्थित फलफूल चोकदेखि पूर्वतर्फ ढल निकासका लागि खनेको खाल्डोमा काम गरिरहेका तीन जना महिला मजदुर पुरिएका थिए ।
पुरिएकामध्ये कावासोती नगरपालिका-५ लक्ष्मीनगर बस्ने ५१ वर्षीया सेती राना र २६ वर्षीया तानमाया गाहाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले बताउनुभयो । खाल्डामा पुरिएर बेपत्ता भएकी अर्की मजदुर चमेली दर्लामी मगरको शव फेला परेको छ ।
ढल निकासीको ह्यूम पाइप राख्न निर्माणाधीन नालामा काम गर्ने क्रममा माटोको ढिस्को खस्दा उनीहरु पुरिएका थिए । पुरिएकामध्ये दुई जनाको उद्धार गरी उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डा लगिएकामा चिकित्सकले मृत घोषणा गरेको प्रनाउ पौडेलले जानकारी दिनुभयो ।