काठमाडौं, असार ३ । आईसीसी टि २० विश्वकपअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले बंगलादेशबाट १०७ रनको लक्ष्य पाएको छ ।
नेपालले बङ्गलादेशलाई एक सय ६ रनमा अलआउट गरेको छ । वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाले रङ्गशालामा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बंगलादेश १९ दशमलव ३ ओभरमा सवै विकेट गुमाउँदै एक सय ६ रनमा समेटियो ।
यससँगै नेपालले नयाँ इतिहास रच्नको लागि एक सय सात रनको लक्ष्य पाएको छ । नेपालले हालसम्म टेस्ट टोलीलाई अहिलेसम्म हराउन सकेको छैन । खेलमा बङ्गलादेशका लागि सकिब अल हसनले २२ बलमा २ चौकासहित सर्वाधिक १७ रनको योगदान दिए । त्यस्तै रिशाद हसनले ७ बलमा १ चौका र १ छक्कासहित १३ रन जोडे । महमुदूल्लाह रियादले १३ बलमा दुई चौकाको सहायताले समान १३ रन नै जोडे ।
यसैगरी तक्किन अहमद र जाकेर अलीले समान १२ ÷१२ रन जोडे भने लिटन दासले १० रन बनाए । तोव्हीद ह्रिदोयले ९, कप्तान नाज्मुल हसन सान्टाले चार तथा तान्जिम हसन सकिब र मुस्तब फिजुर रहमानले समान ३/३ रन बनाए । बङ्गलादेशलाई सस्तैमा समेट्नेक्रममा नेपालका सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने र रोहितकुमार पौडेलले समान दुई दुई विकेट लिए । नेपालल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।