Kath khabar
कुकुरको क्रुरतापूर्वक हत्या गरी सामाजिक सञ्जालमा पोस्ट गर्ने तीन जना पक्राउ

 

                 ईलाम, असार ३ । ईलाममा कुकुरको बच्चाको क्रुरतापूर्वक हत्या गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा इलामको देउमाई नगरपालिका–९, जितपुरका दिक्षान्त मोरोहाङ लिम्बू, संगम लिम्बू र अशोक लिम्बू रहेको प्रहरीले जनाएको छ ।  

पशु कल्याण संघ काठमाडौंले दिएको जाहेरीको आधारमा उनीहरुलाई जितपुरबाट पक्राउ गरिएको हो । संघले काठमाडौंबाट प्रतिनिधि पठाएर जिल्ला प्रहरी कार्यालय इलाममा उजुरी दर्ता गराएको थियो ।

ती युवकहरुले कुकुरको बच्चालाई लाठीले हानी तड्पाई–तड्पाई मारेर खाल्डोमा पुरेको भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । सुगम मोराहाङ लिम्बू र भूत प्रेत नामको फेसबुक एकाउन्टबाट उक्त भिडियो पोस्ट भएको थियो । अहिले त्यो भिडियो हटाइएको छ ।

यस्ता अपराध गर्नेहरुलाई प्रचलित कानुनअनुसार दण्ड सजाय हुनैपर्ने पशु कल्याण सङ्घकी अध्यक्ष स्नेहा श्रेष्ठको भनाइछ । मुलुकी अपराध संहिता २०७५ अनुसार कुनै पनि पशुप्राणीलाई क्रूरतापूर्वक हत्या गर्नु ‘अपराध’ भनेको छ । यस्ता कार्य गरेमा प्रहरी कार्यालयमा उजुरी गर्न सकिन्छ । प्रहरीले जाहेरी लिएन भने जिल्ला प्रशासन कार्यलय र जिल्ला सरकारी वकिलको कार्यालयमा पनि यसको उजुरी दिन मिल्छ । यस्ता कुकृत्य गर्नेलाई तीन महिनासम्म कैद र पाँच हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने प्रावधान छ ।

 

 

प्रकाशित मिति: सोमबार, असार ३, २०८१  १६:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update