Kath khabar
निर्जला एकादशी व्रत कसरी बस्ने ?

                  

                   काठमाडौं, असार ३ । हिन्दु सनातन धर्ममा व्रत र पूजाको विशेष महत्व छ । यस अन्तर्गत हरेक महिनामा आउने एकादशीको पनि आ-आफ्नै विशेष महत्व हुन्छ । त्यसमध्ये निर्जला एकादशीको महिमा विशिष्ट छ ।

जेष्ठ शुक्ल पक्षको एकादशीलाई निर्जला एकादशी भनिन्छ ।  यो दिन निर्जल (पानीसमेत नपिई) व्रत बस्ने परम्परा छ । यस पटक निर्जला एकादशी असार ४ गते परेको छ ।  निर्जला एकादशीलाई भीमसेनी एकादशी पनि भनिन्छ। भीमले पनि अरु एकदशी छोडेर यो व्रत मात्रै राखेका थिए । यस दिन बिना पानी व्रत गर्नाले वर्षभरका सबै एकादशीको पुण्य प्राप्त हुने धर्मग्रन्थहरुमा बताइन्छ ।

यस एकादशीको व्रत गर्नाले धर्म, अर्थ, काम र मोक्ष चारवटै प्राप्ति हुने विश्वास हिन्दू धर्ममा छ । सुस्वास्थ्य र सुखी जीवनको कामना गर्दै यो व्रत मनाइन्छ । यस दिनमा तुलसीका मञ्जरीहरूलाई तुलसीको मोठमा छरिन्छ । यस दिन छरिएका तुलसीहरूको अङ्कुरण भएपछि ती बिरुवाहरूलाई पछि ठुली एकादशीमा रोप्ने गरिन्छ ।

हिन्दू क्यालेन्डर अनुसार वैशाख शुक्ल पक्ष एकादशी तिथि असार ४ गते बिहान ११ बजेर ३७ मिनेटमा सुरु हुनेछ भने एकादशी तिथी असार ५ गते दिउँसो २ः०५ बजे समाप्त हुनेछ।

निर्जला एकादशी व्रत बस्नेले बिहान सबेरै नुहाएर सूर्यदेवलाई जल चढाउनुपर्छ । यसपछि पहेँलो वस्त्र लगाएर भगवान विष्णुको पूजा आराधना गर्नु पर्दछ । पहेंलो फूल, पञ्चामृत र तुलसीको पात चढाएर श्रीहरि र माता लक्ष्मीको मन्त्र जप गर्नुपर्दछ । गरिब तथा दुःखीलाई पानी, खाना, लुगा वा जुत्ता र छाता दान गर्नुहोस् । यो उपवास सामान्यतया पानी बिना गरिन्छ । सक्नेले यस दिन पानी पनि नपिई निराहार यो व्रत बस्ने गर्दछन् । तर आफ्नो स्वास्थ्यअवस्था हेरेर पानी तथा फलफूल खान सकिन्छ ।

यस दिन बेलुका पनि आफ्नो गुरु वा भगवान विष्णुको पूजा गर्नुहोस्। राती पनि जाग्राम बसेर श्रीहरिको पूजा अवश्य गर्नुपर्छ । यस दिन पानी र भाँडाकुँडा दान गर्नु विशेष शुभ हुन्छ । त्यसपछि व्रतको भोलिपल्ट बिहान नुहाएर सूर्यलाई जल अर्पण गरेपछि व्रत समाप्त हुन्छ ।

प्रकाशित मिति: सोमबार, असार ३, २०८१  १७:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update