Kath khabar
आज निर्जला एकादशी, घरका मठमा तुलसीको दल राखिँदै

                  काठमाडौँ, असार ४ । वैदिक सनातन धर्मावलम्बीले आ–आफ्नो घरको मठमा आज तुलसीको दल राख्दैछन् ।

प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर–घरमा तुलसीको दल राख्ने गरिन्छ । यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ । यस दिन रोपेको बीउ एक महिनापछि आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन रोपिन्छ ।

आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ । यसलाई तुलसी हुकाई बढाई दामोदरसँग विवाह गरिने भन्ने पनि बुझिन्छ । यो चार महिनालाई चतुर्मास भनिन्छ ।

चतुर्मासमा स्नान, पूजन र दान गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । निर्जला एकादशीसमेत भनिने भएकाले यस दिन पानीसमेत नपिइ व्रत गर्नाले अभिष्ट फल पाइने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिनुभयो ।

सक्नेले पानी नखाई व्रत गरे पनि नसक्नेका लागि फलफूल खाएर बस्न सकिने पनि उहाँले जानकारी दिनुभयो । आयुर्वेदिकरुपमा पनि लाभकारी औषधि मानिने तुलसी विभिन्न रोगको उपचारमा समेत प्रयोग गरिन्छ । तुलसीमा धेरै अक्सिजन पाइने आधुनिक विज्ञानले प्रमाणित गरेको छ । यस अवसरमा देशभरका नारायणस्थान एवं विष्णु मन्दिरमा भक्तजनको विशेष भीड लाग्ने गर्छ । (रासस)
---

 

प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  ०६:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update