काठमाडौं, असार ४ । ९० को दशकमा आफ्नो स्वर दिएर निकै राम्रा राम्रा गीत गाइरहेकी भारतीय पार्श्व गायिका अल्का याज्ञनिक दुर्लभ सेन्सरी नर्भ श्रवण रोगबाट पीडित भएकी छिन् । संगीतको दुनियाँमा अल्काको नाम निकै ठूलो छ । अल्का युट्युबमा विश्वभर सबैभन्दा धेरै सुनिने गायिका पनि हुन् ।
अल्का याज्ञनिक विगत केही वर्षदेखि संगीतबाट टाढा थिइन् । उनको अचानक बेपत्ता हुनुको खास कारण कसैलाई थाहा थिएन । तर, अल्काले सामाजिक सञ्जालमा एक पोस्ट सेयर गर्दै दुर्लभ सेन्सरी नर्भ श्रवण रोगका कारण आफूलाई संगीतको दुनियाबाट टाढा राखेको बताएकी छिन् ।
अल्का याज्ञनिकले लेखेकी छिन्– केही साताअघि, जब म फ्लाइटबाट ओर्लँदै थिएँ, अचानक मलाई केही सुन्न नसकेको महसुस भयो । मेरा सबै साथीहरू र शुभचिन्तकहरूले मलाई यति लामो समयदेखि किन हराएको भनेर सोधिरहेका थिए । उनीहरुको लागि भन्दै उनले सो पोष्ट गरेको बताएकी छिन् । मेरा डाक्टरहरूले मलाई दुर्लभ सेन्सरी नर्भ श्रवणशक्ति (Sensory Neural Nerve Hearing Loss) को कारण भएको बताए, जुन भाइरल आक्रमणको कारण हुन्छ । म यो समस्यासँग लड्न कोशिस गर्दैछु, कृपया मेरो लागि तपाईंहरुले प्रार्थना गरिदिनुहोस्।
उनले आफ्ना फ्यान र युवा सहकर्मीहरूलाई धेरै चर्को संगीत बजाउँदा र हेडफोन प्रयोग गर्दा होसियार हुन अपिल गरेकी छन्। अल्का याज्ञनिकले लेखेकी छिन्, ‘एक दिन म पनि मेरो व्यावसायिक जीवनका कारण स्वास्थ्यमा परेको हानिको बारेमा कुरा गर्नेछु ।'