काठमाडौं, असार ५ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा मृत भेटिएका सुरक्षाकर्मी अजित गोलेले आफैले आफैलाई गोली हान्नुको कारण प्रेम सम्बन्ध भएको खुलेको छ । संसद भवनको दुई नम्बर गेटको बायाँतर्फ रहेको शौचालयमा मृत भेटिएका गोलेले आफ्नै राइफलले आफैंलाई निधारमा गोली हानेका थिए ।
दोलखाको मेलुङ गाउँपालिका–४ घर भएका गोलेले ५ महिनाअघि इन्गेजमेन्ट पनि गरिसकेको र प्रेमिका अहिले दुवईमा रहेको बुझिएको छ । इन्गेजमेन्ट गरेपछि आफैले पैसा खर्च गरेर दुवई पठाएका उनले प्रेमिकाले वास्ता गर्न छनेडेपछि उनिहरुको सम्बन्धमा दरार आएको बुझ्न सकिन्छ । प्रेमिकाले वास्ता गर्न छाडेको भन्दै उनीहरुबीच विवाद हुने गरेको र मेसेजमा उनले पटक पटक मर्छु भनेको भेटिएको स्रोतले बताएको छ । घटनास्थलमा भित्तामा ठड्याएको अवस्थामा गोलेको मोबाइल फेला परेकोले उनले भिडियो कल गर्दै आफूलाई गोली हानेको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
मृतक गोले बिहान ६ बजेदेखि १० बजेसम्म उक्त स्थानमा ड्युटीमा थिए । नेपाल प्रहरीको केन्द्रीय विशेष कार्यदल कपनमा कार्यरत उनी काठमाडौं उपत्यका प्रहरी कार्यालय नयाँ बानेश्वरस्थित संघीय संसद् सुरक्षा केन्द्रमा कार्यरत थिए ।