Kath khabar
सेफ सन्तोष साहको मिथिला थाली दोस्रो वर्षमा, काठमाडौँमा तीन शाखा


                    काठमाडौं, असार ६ । बिबिसीका मास्टर सेफ सन्तोष साहले सुरु गरेको ‘मिथिला थाली’ रेस्टुरेन्ट दोस्रो वर्षमा प्रवेश गरेको छ । मिथिलाको मौलिक परिकार प्रवर्द्धन गर्ने उद्देश्यले गत वर्षको असार ६ गते आमाको हातबाट रिबन काटेर जनकपुरमा मिथिला खानाको रेस्टुरेन्ट सुरु गरेका साहले दोस्रो वर्ष नपुग्दै राजधानी काठमाडौँमा तीन शाखा विस्तार गरेका छन् ।

जनकपुर तथा मधेसको मौलिक परिकारको स्वाद काठमाडौँवासीलाई खुवाउने योजनाका साथ उनले केही समय अघि झम्सिखेलमा मिथिला थाली सुरु गरेका थिए । साथै दोस्रो वर्ष पुगेको अवसरमा गौशालामा मिथिला थालीको तेश्रो आउटलेटको बिहीवार सफ्ट ओपनिङ गरिएको छ भने नक्सालको गैरीधारामा केही दिनमै नयाँ रेस्टुरेन्ट सञ्चालन हुने उनले जानकारी दिए । “जनकपुरमा अपेक्षाकृत सफलतापछि काठमाडौँ उपत्यकाको झम्सिखेलमा रेस्टुराँ सुरु गरेका थियौँ”, उनले भने, “झम्सिखेलको रेष्टुरामा उत्साहजनक प्रतिक्रियापछि गौशाला र गैरीधारामा रेस्टुरेन्ट सुरु गर्न लागिएको हो ।”

उनका अनुसार गौशालाको आउटलेटमा विशुद्ध शाकाहारी परिकार उपलब्ध हुनेछ । पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने तीर्थयात्रीलाई लक्षित गरी शाकाहारी रेस्टुरेन्ट सुरु गर्न लागिएको उनको भनाइ छ । साहले अब काठमाडौँवासीले गौशालामै मिथिला क्षेत्रको मौलिक परिकारको स्वाद लिन पाउने बताए । मिथिला थाली अन्तर्गत ग्राहकले एकै थालीमा १७ परिकारको स्वाद लिन पाउने उनको भनाइ छ ।

“मेरो उद्देश्य मिथिलाको मौलिक खानासँगै संस्कृति र कला पनि प्रबर्द्धन गर्नु हो”, उनले भने, “त्यसैले रेस्टुरेन्टमार्फत मिथिला झल्कने गरी मिथिला कलाले सजाइएको छ ।” रेष्टुराँमा  आउने ग्राहकले मिथिला आर्ट खरिद गरेर कलाकारलाई सहयोग पनि गर्न सक्ने साहको भनाइ छ । “हामीले मिथिला कलाकारका सिर्जनालाई यहाँ राखेका छौँ, ग्राहकहरुले यी कला खरिद गरेर उहाँहरुलाई आर्थिक रुपमा  सहयोग गर्न सक्नुहुनेछ”, उनले भने । दाई दिलिप साहको प्रेरणाबाट सेफ बनेर बिबिसीको मास्टर सेफ २०२० को उपविजेता र मास्टर सेफको प्रोफेसनल रिम्याच २०२१ को बिजेता बन्दै विश्वभर नेपाली परिकार चिनाउन सफल साहले अहिले पनि दाईसँगै सहकार्यमा रेस्टुराँ विस्तार गरिरहेका छन् ।

साह पछिल्लो समय उनी फुड टुरिजम प्रवर्द्धन गर्न पनि उत्तिकै सक्रिय छन् । गौशालाको रेस्टुरेन्टमा मिथिलाको शाकाहारी खाना मात्रै उपलब्ध हुने भए पनि गैरीधारा र झम्सिखेलका रेष्टुराँमा भने साहको कस्टमाइज मेनु उपलब्ध हुने र ग्राहकले नयाँ परिकारको स्वाद लिन पाउने उनको भनाइ छ ।

साहले फुड टुरिजम अन्तर्गत माता सिताको जन्मभूमिको परिकारलाई भगवान रामको जन्मभूमि भारतको अयोध्यामा पुर्‍याउने गरी काम भइरहेको जानकारी दिए । उनका अनुसार अबको एक वर्षभित्रमा अयोध्यामा मिथिला थाली सुरु हुनेछ । साथै कतारको राजधानी दोहामा पनि एक वर्षभित्रै रेस्टुरेन्ट सुरु गर्ने योजना रहेको उनको भनाइ छ । त्यसका साथै आगामी दिनमा मुलुकमा विभिन्न मुख्य सहरमा पनि रेस्टुरेन्ट विस्तार गर्ने उनको योजना छ ।

प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  १७:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update