Kath khabar
नवजात शिशुको रेखदेखमा ध्यान दिनुपर्ने कुराहरु के के हुन् त ?

काठमाडौं, असार २९ । प्राय जसो नवजात शिशुको तौल २ देखि साढे दुई के.जी सम्मको हुन्छ । शिशुलाई सबैभन्दा आवश्यक चिज भनेको आमाको दुध हो । जन्मेको ३० मिनेटपछि शिशुलाई दुध खुवाउनु पर्दछ । यदि शल्यक्रियाबाट बच्चाजन्मिएको छ भने पनि शिशुलाई ३० मिनेट पछि नै आमाको दुधखुवाउन सकिन्छ । हामीले शुरु शुरुमाशिशुलाई ३/३ घण्टाको अन्तरालमा दुध सेवन गराउनु पर्दछ । महत्वपूर्ण कुराशिशुलाई जन्मेको ६ महिनासम्म आमाकै दुध सेवन गराउँदा बच्चा स्वस्थ हुन्छ ।

१. नवजातशिशुलाई दुधपिलाउने समय : नवजातशिशुलाई २/३ घण्टाको बिचमा आमाको दुध खुवाउनु जरुरी छ, किनभने एक देखि ३ महिनासम्मको शिशुहरु धेरै जसो (दुध नखाए) भोकै पनि धेरै सुत्ने गर्छन् तर हामीले सुतेको छ भनेर खान नदिने भने गर्नु हुँदैन । त्यो समयमा पनि आफ्नो शिशुलाई उठाएर दुध खुवाउने गर्नुपर्दछ । यो कुरामा चाँहि हामीले एकदम ख्याल राख्नुपर्दछ । हरेकपल्ट बच्चाले दुध खान दिए पछि डकार्नु अति नै जरुरी छ । यदि डकारेन भने बच्चाको पेटमा ग्यास बसिरहने अनि बच्चा रोइरहने गर्दछ र दुध सबै बाहिर निकाल्ने गर्दछ । त्यति बेला हामीले बुझ्नै सक्दैनौ कि बच्चालाई के भईरहेको छ भनेर, त्यसैले बच्चालाई दुध खुवाइसके पछि आफ्नो काँधमा राखेर ढाडमा हल्का हातले थपथपाउनु पर्छ । अनि बच्चाको मुखबाट डकारको आवाज आउँदछ ।

२. शिशुलाई बोक्दा ध्यान दिनुपर्ने कुराहरु : नवजातशिशुको ३ महिनासम्म हड्डी एकदम नरम हुने हुँदा बच्चालाई बोक्दा एउटा हात उसको गर्दन पछाडी राखेर उठाउनु पर्छ र नवजात शिशुलाई जन्मेको ३ महिनासम्म बसाउने काम भुलेर पनि गर्नुहुँदैन । बच्चालाई कुनै पनि किसिमको झड्का दिने, हल्लाउने या हावामा मच्चाउने कार्य गर्दै गर्नु हुँदैन । यसले बच्चाको दिमागमा नराम्रो असर पार्दछ र शिशुलाई समाउनु अगाडि हात राम्रोसँग धुनुपर्दछ ।

३. नाभीको ध्यान कसरी गर्ने : नवजात शिशुको नाभी सुकेर झर्नमा कम्तिमा पनि हप्ता दिन लाग्छ । यदि डाक्टरले बच्चाको नाभीमा प्रयोग गर्न कुनै औषधी दिनु्भएको छ भने प्रयोग गर्नुहोस्, नभए बच्चाको नाभीमा कुनै पनि प्रकारको तेल, क्रिम नलगाउनुहोस् । नाभी नझरुञ्जेलसम्म भुलेर पनि पानी नपार्नुहोस् र डाइपर लगाउँदा पनि नाभी भन्दा तल लगाउनुहोस् । 

४. बच्चालाई स्नान कसरी गराउने : नवजात शिशुलाई स्नान गराउँदा शिशुको शिर पानी भन्दा माथि राख्नु पर्दछ, ध्यान राख्नुस् कि शिशुको शिरमा चाँहि पानी नपरोस् । शिशुलाई स्नान गराउँदा मनतातो पानी प्रयोग गर्नुहोस् । गर्मी महिनामा हप्ताको ३ पटकसम्म र जाडो मौसममा हप्ताको २ पटकसम्म स्नान गराउनु सकिन्छ । 

५. मसाज गर्ने तरिका : नवजात शिशुलाई दिनमा २ पटक मालिस गर्नु एकदम उपयुक्त मानिन्छ । मालिस गर्नु अगाडि तेललाई मनतातो पारेर तताउनु पर्छ । शिशुको शरीर नाजुक हुने हुँदा मालिस गर्दा हल्का हातले मालिस गर्नुस्, यसो गर्दा शिशुको छालामा रगत सञ्चालन राम्रोसँग हुने, छालामा चमक आउने, हड्डी बलियो हुने र चिसोबाट जोगाउने गर्दछ । 

६. कपडा र डाइपर कस्तो प्रयोग गर्ने : बजारमा विभिन्न किसिमको डाइपरहरु पाइन्छ तर शिशुलाई हामीले सकेसम्म साइडबाट टाँसिने डाइपर प्रयोग गर्नु उचित हुन्छ । यस्तो प्रकारको डाइपरको प्रयोगले शिशुलाई एलर्जी हुने सम्भावना कम हुन्छ । हामीले २/३ घण्टाको बिचमा डाइपर फेरीदिनु पर्छ ।

अब कुरा गरौं कपडाको । शिशुलाई सेतो खालको कटनको कपडा प्रयोग गर्नु एकदम उचित हुन्छ । भर्खर जन्मेको बच्चामा जन्डिस हुने सम्भावना धेरै हुनेहुँदा बुट्टेदार कपडाले जन्डिस भएको पत्तो पनि हुँदैन । त्यसैले सेतो कटनको कपडा एकदम उचित मानिन्छ । याद गर्नुहोस् नवजात शिशुले लगाउने कपडामा सकभर बटन, हुक, पनि हुनुहुँदैन । कुनै पनि नयाँ कपडा एकचोटी धोएर मात्र लगाइ दिनुहोस् । 


 

प्रकाशित मिति: मंगलबार, असार २९, २०७८  १२:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update