बेङ्गलोर, असार ९ । भारतमा विषाक्त मदीराको सेवनबाट ज्यान गुमाउनेको सङ्ख्या ५३ पुगेको भारतीय सञ्चारमाध्यमले आइतबार जनाएका छन् ।
तमिलनाडु राज्यका मुख्यमन्त्री एम.के स्टालिनले मङ्गलबार मदीरा पिएका ३७ जनाको केही घण्टाभित्रै मृत्यु भएको र अन्य दर्जनौँ व्यक्तिलाई अस्पतालमा भर्ना गरिएको बताउनुभएको थियो ।
स्थानीयस्तरमा उत्पादन गरेको मदीरामा विषाक्त मेथानोल मिसाइएको पुष्टि भएको उहाँले बताउनुभयो । रक्सी पिउने १०० भन्दा बढी मानिसहरूलाई अस्पताल लगिएको थियो ।
भारतमा ब्याकस्ट्रिट डिस्टिलरीहरूमा बनेको सस्तो रक्सीबाट हरेक वर्ष सयौं मानिसहरू मर्छन्, तर यो विषाक्तता हालका वर्षहरूमा थप भयानक दखिएको छ । रक्सीको शक्ति बढाउन मिसाइने पदार्थ मेथानोलले अन्धोपन, कलेजोको क्षति र मृत्यु निम्त्याउन सक्छ ।
कल्लाकुरिची जिल्लाका गरिब मजदुरहरूले नियमित रूपमा प्लास्टिकको झोलामा ६० रुपैयाँ मूल्य पर्ने रक्सी किन्ने र काम गर्नु अघि पिउँने र यसैको नशामा काम गर्ने गरेको इन्डियन एक्सप्रेस पत्रिकाले आइतबार उल्लेख गरेको छ ।
रक्सीको सेवनपछि कतिपयले आँखा देख्न नसकेको बताएका थिए भने कतिपय बेहोस भई सडकमै ढलेका र उनीहरूमध्ये केहीको तत्काल मृत्यु भएको थियो ।
कल्लाकुरिची जिल्लाका शीर्ष सरकारी अधिकारी एम.एस प्रशान्तले घटनासँग सम्बन्धित व्यक्तिमध्ये शनिबारसम्ममा ५३ जनाको मृत्यु भएको बताउनुभएको छ । केही भारतीय सञ्चारमाध्यमले आइतबार मृतकको सङ्ख्या ५५ पुगेको बताएका थिए तर यसको कुनै आधिकारिक पुष्टि भएको छैन ।
प्रशान्तले नक्कली रक्सी त्रासदीसँग सम्बन्धित सात जनालाई पक्राउ गरिएको बताउनुभयो ।
इन्डियन एक्सप्रेसले बिहीबार विषालु पेय पदार्थको प्याकेट पिएर मृत्यु भएकाको पत्नि घरेलु कामदार कोलान्जीसँग कुरा गरेको थियो । उहाँका अनुसार स्थानीयले सरकारी पसलहरूबाट रक्सी किन्न नसक्ने तर नशाका लागि दुषित मुनशाइन नामक रक्सी पिउने गर्छन् ।
भारतका धेरै भागहरूमा रक्सी बेच्न र सेवन गर्न निषेध गरिएको छ, जसले गर्दा घातक ब्याकस्ट्रिट मुनशाइनजस्ता पेय पदार्थको कालो बजार फस्ट्याएको छ ।
गत वर्ष पूर्वी भारतीय राज्य बिहारमा विषाक्त मदिरा सेवन गर्दा कम्तीमा २७ जनाको मृत्यु भएको थियो भने सन् २०२२ मा गुजरातमा कम्तीमा ४२ जनाको मृत्यु भएको थियो ।
---