Kath khabar
उत्साहजनक उपस्थितिमा सम्पन्न भयो 'म्याङ्गो फेस्ट', तीन दिनमा ३२ हजार किलो आँप बिक्री


                  काठमाडौं, असार १० । नेपालमा पहिलोपटक भएको आँप मेला उत्साहजनक उपस्थितिमा सम्पन्न भएको छ । किसान भेन्चर र काठमाडौं अर्गानिक्सको संयुक्त आयोजनामा असार ७ देखि ९ गतेसम्म काठमाडौं र ललितपुरका विभिन्न स्थानमा मेला भएको थियो ।

मेला अवधिभर १० हजार जनाले अवलोकन गरेको र ३२ हजार किलो आँप बिक्री भएको आयोजकले जनाएको छ । मेलामा सर्लाही, सप्तरी र सिराहाका ५० जना किसानहरूबाट प्रत्यक्ष खरिद गरेर ल्याइएका विभिन्न प्रजातिका आँपहरू प्रदर्शनीमा राखिएका थिए ।

मेलामा आँपको अचार बनाउने, प्रशोधन गर्ने प्रविधि पनि राखिएका थिए । प्रख्यात सेफ सन्तोष शाह पनि अन्तिम दिन द गार्डेन झम्सिखेलमा नेपाल म्याङ्गो फेस्ट हेर्न आउनुभएको थियो साथै विभिन्न सेफहरुले पाउडर, स्टिकी राइस, आँप स्मृदि, सुख्खा आँप क्रस जस्ता ५० भन्दा बढी आँपबाट बन्ने उत्पादनहरु प्रदर्शन गरी आफ्नो पाक कौशल प्रस्तुत गरेका थिए ।

नेपालमै विभिन्न प्रजातिका आँप पाइने भएता पनि आँपको मौसममा भारतीय उत्पादनले नेपाली बजार कब्जा गरिरहेको अवस्थामा नेपाली आँपको प्रचलन बढाउन, किसानलाई प्रोत्साहन गर्न र उपभोक्तालाई विषादीरहित स्वच्छ आँपको पहुँच पुर्याउन मेलाको आयोजना गरिएको आयोजकले जनाएको छ ।'पहिलो आँप मेला भव्यताका साथ सम्पन्न भयो । आगामी वर्ष यो भन्दा उत्कृष्ट मेलाको आयोजना गर्नेछौँ । जहाँ अहिलेभन्दा बढी किसानसँग समन्वय गरी धेरै सहरमा धेरै भेराइटी, सेल्स काउन्टर र रमाइला कार्यक्रमहरु आयोजना हुनेछन्,' आयोजक किसान भेन्चरका सीईओ राजेश कार्कीले बताए । आगामी वर्ष १०० टन आँप मेलामा बिक्री गर्ने लक्ष्य राखिएको जानकारी उनले दिए ।

आँप मेलाको सफलतासँगै सीईओ कार्कीले यसै वर्ष स्याउ, सुन्तला, जुनार र टिमुरको मेला पनि आयोजना गर्ने घोषणा गरे । धेरै स्थानीय किसानलाई प्रोत्साहन गरी नेपाली उत्पादनको बजार विस्तारका लागि यस्ता मेलाहरु जरुरी भएको बताउँदै उनले त्यसैले अन्य मेलाको पनि तयारी गरेको बताए ।

अगाडि उनले भने, ‘नेपालले कृषि, खाद्य, नवप्रवर्तन र प्रविधि क्षेत्रमा लगानी गर्नुपर्छ, यसैमा धेरै सम्भावना छन् । कृषि क्षेत्रमा सकारात्मक प्रभाव पार्न सरकारसँग सहयोगका लागि पनि उनले आह्वान गरे । कृषि, खाद्य, आविष्कार र प्रविधि क्षेत्रलाई प्रवद्र्धन गर्न विदेशी लगानी भित्र्याउने र निर्यात बढाउने योजनामा सरकारले साथ दिने अपेक्षा व्यक्त उनले गरे । किसान भेन्चरले विदेशी लगानी भित्र्याएर यी क्षेत्रमा लगानी गर्ने तथा नेपाली उत्पादनहरू विभिन्न देशमा निर्यात पनि गर्ने योजना बनाइरहेको छ ।

आँप मेलाको पहिलो दिन वालनट बिस्ट्रो पानीपोखरीमा मेलाको उद्घाटन भएको थियो । वालनट बिस्ट्रो, काठमाडौं अर्गानिक्स बाँसबारी, उत्पला क्याफे बौद्ध र द गार्डेन्स झम्सिखेलमा बिक्री स्टलहरू राखिएका थिए । कार्यक्रमको उद्घाटन समारोहमा शुक्रबार १५ सय जना उपस्थित थिए । सो दिन विभिन्न ८ हजार किलो आँप बिक्री भएको थियो । यस्तै दोस्रो दिन १२ हजार किलो र अन्तिम दिन आइतबार १२ हजार किलो आँप बिक्री भयो । मेलामा माल्दा, देशरी, बम्बै जर्दा, कृष्णभोग, नजरिया बम्बै, अम्रपाली, कलकत्तिया, दुधया माल्दा र गुलाबखाससहित विभिन्न भेराइटीका आँपहरु प्रदर्शनमा राखिएका थिए ।

उद्घाटन कार्यक्रमपछि काठमाडौं अर्गानिक्स, उत्पला क्याफे बौद्ध र द गार्डेन झम्सिखेलमा तीन दिन नै आँप र ऑपबाट बनेका विभिन्न उत्पादनहरू प्रदर्शनी एवं बिक्री वितरण गरिएका थिए ।

मेला अवधिभर विभिन्न प्यानल डिस्कसन कार्यक्रम पनि भएका थिए । उक्त अन्तरक्रिया कार्यक्रममा किसानहरुले सरकारबाट सहयोग प्राप्त नभएको गुनासो गरेका थिए भने बजार व्यवस्थापकले बजारका समस्या र विज्ञले बजार कसरी चल्छ भन्ने विषयमा छलफल गरेका थिए । किसान पवन घिमिरे बागवानीविद् गोपालप्रसाद श्रेष्ठ, किसान भेन्चरका राजेश कार्की, स्मार्ट कृषिका अनिल रेग्मीलगायतले आफ्नो धारणा राखेका थिए ।

 

Mango-2-(1)-1719225349.JPG
Mango-5-1719225341.JPG
Mango-1-(1)-1719225334.JPG
 

 

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  १६:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update