काठमाडौं, असार ११ । काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले आर्थिक बर्ष २०८१/८२ का लागि काठमाडौं महानगरपालिकाका लागि २५ अर्व ७० करोड ६३ लाख २५ हजार रुपैयाँको वार्षिक बजेट पेस गर्नुभएको छ ।
महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको नगर सभा १५ औँ अधिवेशनको तेस्रो वैठकमा आज उहाँले महानगरपालिकाका नीति तथा कार्यक्रमलाई साकार पार्न अनुमानित बजेट तथा कार्यक्रम पेस गर्नुभएको हो ।
सभामा उपप्रमुख डंगोलले ‘बजेट तथा कार्यक्रम’ सहित ‘आर्थिक विधेयक २०८१’ र ‘विनियोजन विधेयक २०८१’ पनि पेश गर्नुभयो । सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रका लागि १ अर्ब ८९ करोड २१ लाख ३० हजार रुपैयाँ बिनियोजन गरिएको छ । यो कुल बजेटको ७.८२ प्रतिशत हो । यसरी बजेट तथा कार्यक्रम प्रस्ताव गर्दा, उपलब्ध श्रोत, सूचना र मानव संसाधनको उच्चतम परिचालन गर्दै विकासको गतिलाई तीव्रता दिने विषयलाई प्राथमिकता दिएको उपप्रमुख डंगोलले बताउनुभयो ।
यस्तै स्थानीय स्रोत र साधनलाई सन्लुलित र समन्यायिक ढंगले परिचालन गरी आर्थिक असमानता र गरिवी न्यूनीकरण गर्ने, सामाजिक, आर्थिक भौतिक पूर्वाधार विकास मार्फत समुन्नत र समाजवाद उन्मुख विषयहरु, गतिविधिहरु मार्फत योगदान गर्ने विषय, लैङ्गिक समानता र सामाजिक समावेशीकरणलाई टेवा पुग्ने कार्यक्रम सञ्चालन, बढ्दो बेरोजगार दरलाई न्यूनीकरण गर्न स्वदेशमै सिप तथा तालिम दिइ स्वरोजगारबाट विदेशिने युवाको दर घटाउने कार्यक्रमलाई प्राथमिकता दिइएको छ ।