Kath khabar
लमजुङमा पहिरोले तीन घर पुरिँदा दुई जनाको मृत्यु, तीनजना अझै बेपत्ता

 

                     लमजुङ, असार १२ । लमजुङको क्व्होंलासोथर गाउँपालिका–३ बगुमस्थित पच्युटोलमा पहिरोमा परेर बेपत्ता भएका चारमध्ये एकजनाको शव फेला परेको छ । तीनजना अझै बेपत्ता छन् । गाउँपालिका–३ बगुम गाउँमा गए राति पहिरोले तीन घर पुरिँदा चारजना बेपत्ता भएका हुन् । पहिरोमा परी एकजना घाइते भएका छन् ।

लगातारको वषासँगै घर माथिबाट आएको पहिरोले स्थानीय चित्र घले, रुद्रमान गुरुङ र पञ्चकुमारी गुरुङको घर पुरिएको हो । पहिरोमा परी रुद्रमान गुरुङ, पञ्चकुमारी गुरुङ र उनकी पाँच वर्षीया छोरी नम्रता तथा सात वर्षीया इच्छा गुरुङ बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाइँले जानकारी दिनुभयो । अहिले प्रहरी टोली घट्नास्थलमा उद्धारका लागि जाँदै छ ।  रुद्रमान र पञ्चकुमारी ससुरा बुहारी हुन् भने इच्छा रुद्रमानका भाइकी नातिनी हुन् । पञ्चकुमारीको छोरो अर्को घरमा सुत्न गएकाले सकुशल छन् ।

क्व्होलासोथार गाउँपालिकाका योजना शाखा प्रमुख चित्र घलेका अनुसार गए राति २ः३० बजे पहिरो गएको हो । राति नै प्रहरी चौकी मालिङलाई खबर गरेको उहाँले जानकारी दिनुभयो । सडक अवरुद्ध भएकाले गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङ, उपाध्यक्ष जमिमाया गुरुङलगायतको टोली उद्धारको पहलमा लागि घटनास्थलमा जाँदै गरेको उहाँले बताउनुभयो ।  

स्थानीय जुना घलेका अनुसार रुद्रमानकी श्रीमती भने छोरीको घरमा गएकाले उक्त घटनाबाट जोगिएकी छिन् । “पानी बेस्सरी परिरहेको छ, पहिरो गएको ठाउँमा जान सकिएको छैन”, उहाँले भन्नुभयो–“प्रहरी चौकी मालिङबाट दुई प्रहरी राति नै उद्धारका लागि आउनुभएको छ, श्रोतसाधनको अभावले पहिरो पन्छाउन सकिएको छैन ।” सो ठाउँमा ६ वटा घर रहेका छन् । तीन घर भने पहिरोबाट जोगिएका छन् ।

यसैबीच लमजुङको दोर्दी गाउँपालिका–९ मा गए राति पहिरोले घर भत्किँदा १६ वर्षीय विकल सुनारको मृत्यु भएको छ । उक्त घटनामा १८ वर्षीय मिलन सुनार घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघनाथ चापागाईँले जानकारी दिनुभयो । विकल र मिलन दाजुभाइ हुन् । दुवैजनालाई आज बिहान उपचारका लागि जिल्ला अस्पताल लमजुङ ल्याइएकामा विकलको उपचारकै क्रममा मृत्यु भएको हो । मिलनको सोही अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै पहिरोका कारण लमजुङ–मनाङ जोड्ने बेँसीसहर–चामे सडक अवरुद्ध छ । बेँसीसहर नगरपालिका–६ खरकहरे भिरमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा यात्रु बाटोमै अलपत्र परेका छन् । (रासस)

 

प्रकाशित मिति: बुधबार, असार १२, २०८१  १०:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update