काठमाडौं, असार १२ । कान्तिपुर टेलिभिजनको ‘इट्स माई शो’ कार्यक्रम अहिले विवादमा परेको छ । कार्यक्रम प्रस्तोता ओसिन सिटौलाले सोधेको प्रश्नमा अनमोल केसी र जसिता गुरुङलगायतका कलाकारहरुको निजी जीवनबारे अभिव्यक्ति दिएपछि उनीहरू विवादमा तानिएका हुन् । उनीहरुको अहिले चर्को आलोचना भइरहेको छ।
शोमा अतिथिको रुपमा पुगेका स्वस्तिमा र अभिनेत्री साम्राज्ञी शाहलाई ओसिन सिटौलाले गेम खेल्ने भन्दै अनमोल, जसिता लगायतका कलाकारहरुको व्यक्तिगत जीवनसँग सम्बन्धित प्रश्नहरु सोध्छिन् । उनले धिरज मगर र अहिले अनमोल केसीसँग डेट गरिरहेकी नायिका को हुन् भनेर सोध्दा जवाफमा स्वस्तिमाले जसिता भनेर जवाफ दिन्छिन् । र साम्राज्ञीले प्रदिप, धिरज अनि अनमोल भनेर थपेकी छिन् । यस कार्यक्रममा अनमोलको गर्लफेन्डहरु भनेर पूर्वमिस नेपाल अस्मी श्रेष्ठ तथा आना शर्माको पनि नाम लिएको थियो ।
विवादमा परेपछि अनमोल र जसितासहित, अश्मि श्रेष्ठ र कार्यक्रमका पूर्व सञ्चालक सुरज सिंह ठकुरीले पनि प्रतिक्रिया दिएका छन् । ‘इट्स माई शो’ बारे सुरज सिंहको प्रतिक्रिया–‘ब्रान्डप्रतिको मेरो वफादारी ध्वस्त भएको छ’ । विवादमा परेपछि उनले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिएका हुन् ।
‘म यो स्पष्ट पार्न चाहन्छु कि, अब कुनै पनि हैसियतमा शोमा आबद्ध छैन, या त होस्ट वा प्रमुख कार्यकारी निर्माताको रुपमा । मलाई हालको कार्यक्रममा केही दुर्भाग्यपूर्ण टिप्पणीहरूबारे सचेत गराइएको छ, जसले मलाई चिन्ता उत्पन्न भएको छ । म यो कार्यक्रममा संलग्न छैन र यी घटनाहरूमा मेरो कुनै पनि संलग्नता थिएन भनी दोहोर्याउनै पर्छ ।’ उनले अगाडि लेखेका छन्–‘म यति मात्र भन्न सक्छु कि मेरो २३ वर्षको समर्पण, इमान्दारिता र मेरो ब्रान्डप्रतिको वफादारी ध्वस्त भएको छ ।’
यस्तै, नायक अनमोल केसीले लेखेका छन् - "यदि तिनीहरूले तपाईंलाई आदर गर्छन् भने, तिनीहरूलाई सम्मान गर्नुहोस् । यदि तिनीहरूले तपाईंलाई अनादर गर्छन् भने, अझै पनि तिनीहरूलाई सम्मान गर्नुहोस्। अरूको कार्यलाई तपाईंको राम्रो तरिकालाई कम गर्न नदिनुहोस्, किनकि तपाईं आफैंको प्रतिनिधित्व गर्नुहुन्छ, अरूलाई होइन। सबैलाई सम्मान गर्नुहोस्" ।
अनमोलसँग नाम जोडिएपछि आपत्ति जनाउँदै अश्मि श्रेष्ठले पनि यसप्रति आपत्ति जनाएकी छन् । "अप्रिय रूपमा मेरो नाम अनावश्यक विवाद निम्त्याउने गरी लिइएको छ। जसमा कत्ति पनि सत्य छैन ।अन्तर्वार्ताको नाममा कसैको व्यक्तिगत जीवनको चर्चा गर्ने संस्कृतिलाई म स्पष्ट रूपमा अस्वीकार गर्छु", उनले भनेकी छिन् । आफ्नो व्यक्तिगत विषय उठाइएको भन्दै नायिका जसिता गुरुङले यसअघि नै स्टाटस लेख्दै आपत्ति जनाइसकेकी छन् ।
उनीहरुले उक्त कार्यक्रममा कलाकारको बारेमा विभिन्न कुरा गरेर उडाएका छन् । यति मात्र हैन कार्यक्रममा ओसिन सिटौलाले प्रश्नको जवाफ दिन नसक्नेले लुगाको कुनै एउटा भाग खोल्नुपर्ने हुन्छ पनि भनेकी छन् । साम्राज्ञी शाह र स्वस्तिमा खड्काले यस विवादमा माफी मागिसकेका छन् ।
कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने ‘इट्स माई सो’ कार्यक्रमका सञ्चालक सुरज सिंह ठकुरीले अहिले यो सो छोडेपछि ओसिन सिटौलाले सञ्चालन गरेकी हुन्।