इस्लामावाद, असार १२ । पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराँचीमा विगत तीन दिनदेखि अत्यधिक रूपमा तापक्रम बृद्धिका कारण कम्तीमा २५ जनाको मृत्यु भएको र हजारौँलाई अस्पतालमा भर्ना गरिएको उद्धार टोली र स्थानीय सञ्चारमाध्यमले मङ्गलबार जनाएका छन् ।
उच्च तापक्रमका कारण धेरै बिरामीहरूमा पानीको मात्रा कम भएको र प्राथमिक उपचारपछि डिस्चार्ज गरिएको चिकित्सकहरूले बताएका छन् ।यद्यपि, मुटुको रोग र क्यान्सर जस्ता दीर्घरोग भएका केही व्यक्तिलाई थप उपचारका लागि अस्पतालमा राखिएको स्थानीय सञ्चार माध्यमले जनाएको छ ।
पाकिस्तानको मौसम विज्ञान विभागका अनुसार मुख्यतया सहरमा समुद्री हावाको अवरोधका कारण विगत तीन दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस नाघेको बताएको छ ।
मौसम विभागले बुधबार साँझ कराँचीमा समुद्री हावा फेरि सुरु हुने जसले गर्दा तापक्रममा क्रमिक गिरावट आउन सक्ने पूर्वानुमान गरेको छ ।
---