काठमाडौं, असार १४ । रामेछापको लिखु तामाकोसी गाउँपालिकाको केउरेनी बिर्ता लामपानीमा यात्रुबाहक बस दुर्घटना हुँदा चालकसहित आठजना घाइते भएका छन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ।
रामेछापको गैरीबाट काठमाडौं आउँदै गरेको अरनिको यातायातको बा५ख ५६२५ नम्बरको यात्रुबाहक बस आज बिहान दुर्घटना भएको हो । घाइते हुनेमा सबै रामेछापको लिखु तामाकोसी गाउँपालिका वडा नम्बर ६ का स्थानीयहरु ५७ वर्षीय मानबहादुर श्रेष्ठ, ५० वर्षीय टेक बहादुर श्रेष्ठ, २१ वर्षीया सबिना श्रेष्ठ, १ वर्षीया सुजता श्रेष्ठ, ४२ वर्षीय साबित्रा घिमिरे, १९ वर्षीय झलकबहादुर श्रेष्ठ, ४१ वर्षीया सकुन्तला श्रेष्ठ र ४४ वर्षीया शंक कुमारी तामाङ रहेका छन् भने गाडीका साहु दोलखा भिमेश्वर ५ का ४२ वर्षीय दीपक श्रेष्ठ र चालक सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका ५ पिस्करका ४० वर्षीय यादव खत्री छन् ।
२५ यात्रु सवार रहेको उक्त बस हिलोमा चिप्लिएर सडकबाट करिब २० मिटर तल बस खसेको बताइएको छ । दुर्घटनामा घाइते भएकालाई खिम्तीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र र मन्थली अस्पतालमा उपचार भइरहेको र गम्भीर भएकालाई काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धानका लागि चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।