Kath khabar
भारतले जित्यो विश्वकप २०२४ को उपाधि


              काठमाडौं, असार १६ । दक्षिण अफ्रिकालाई सात रनले हराउँदै भारत आइसिसी टि-२० क्रिकेट विश्वकप २०२४ को च्याम्पियन बनेको छ । भारतले १७ वर्षपछि विश्वपकको ट्रफी उचालेको हो । यसअघि भारतले सन् २००७ मा पहिलेपटक टि-२० विश्वकपको उपाधि जितेको थियो ।

वेष्टइन्डिजको बार्बाडोसस्थित कोन्सिङ्टन ओभलमा भारतले दक्षिण अफ्रिकालाई एक सय ७७ रनको लक्ष्य दिएको थियो । प्रत्युत्तरमा दक्षिण अफ्रिका निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदा मात्र एक सय ६९ रनमा समेटियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार दक्षिण अफ्रिकाका लागि हेनरिक क्लासेनले सर्वाधिक ५२ रनको योगदान दिए । उनले २७ बलमा दुई चौका र पाँच छक्काको सहयोगमा ५२ रन बनाएका हुन् । त्यस्तै क्विन्टर डि ककले ३९ र क्रिस्टन स्टब्सले ३१ रन बनाए ।

भारतका हार्दिक पांड्याले सर्वाधिक तीन विकेट लिए भने अरसदीप सिहं र जसप्रित बुमराहले समान दुई-दुई विकेट लिए । त्यसअघि टस जितेर  पहिला ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ७६ रनको योगफल बनाएको थियो । भारतका लागि विराट कोहीले कोहलीले ५९ बलमा छ चौका र दुई छक्काको मद्दतले सर्वाधिक ७६ रन बनाए । यसैगरी अक्षर पटेलले ४७ र शिवम दुबेले २७ रन जोडे ।

दक्षिण अफ्रिकाका लागि  केशव महाराज र एनरिच नोर्ट्जेले समान दुई-दुई विकेट लिए भने मार्को यानसन र कागिसो रबाडाले समान एक-एक विकेट लिए ।
---

 

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १०:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update