काठमाडौँ, असार २० । काठमाडौँ-तराई/मधेस द्रुतमार्ग आयोजनाअन्तर्गत मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडाका दुईमध्ये एउटा सुरुङमार्ग छिचोलिएको छ ।
कूल एक हजार छ सय १२ मिटर लम्बाइको निजगढबाट काठमाडौँतर्फ आउने सुरुङमार्ग आज छिचोलिएको नेपाली सेनाले जनाएकाे छ ।
नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन आयोजनाको सुरुङमार्ग छिचोल्ने कार्यको प्रधान सेनापति प्रभुराम शर्माले भर्चुअलमाध्यमबाट अवलोकन गर्नुभयो । उहाँले तोकिएको समयमै सुरुङमार्ग छिचोलिएकोमा खुसी व्यक्त गर्नुभयो । साथै उहाँले नेपाल सरकारबाट नेपाली सेनालाई प्राप्त यस राष्ट्रिय गौरवको आयोजना निर्माणमा खटिनुभएका सम्पूर्ण निकाय तथा व्यक्तिलाई धन्यवाद दिनुभयो ।
उहाँले आयोजनामा कार्यरत व्यक्तिहरूको लगनशीलता, मेहनत र कार्य दक्षताको प्रशंसा गर्दै तोकिएकै समयमा आयोजना सम्पन्न गर्न समेत निर्देशन दिनुभयो । उक्त कार्यक्रममा बलाधिकृत रथी श्री अशोकराज सिग्देललगायत नेपाली सेनाका रथीवृन्दको उपस्थिति थियो ।
---