काठमाडौं, असार २३ । हास्यकलाकार मनोज गजुरेलको घरमा ताला लगाउन खोज्ने मिना ढकाल पक्राउ परेकी छिन् ।
दलबलसहित गजुरेलको घरमा ताला लगाउने क्रममा मिनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ । प्रहरीका अनुसार ढकाललाई साइबर क्राइम मुद्दामा पक्राउ गरिएको हो । मिनाविरुद्ध साइबर क्राइम मुद्दा चलिरहेको छ ।
ढकालले आइतबार बिहान केही व्यक्तिसँग भक्तपुरको बालकोटस्थित मनोज गजुरेलको घरमा ताला लगाउने प्रयास गरेकी थिइन् । २०७४ मा नै मनोज गजुरेलसँग सम्बन्धविच्छेद गरेकी उनले बालकोटको घरमा बस्ने अधिकार आफूसँग रहेको दाबी गरेकी छन् ।
मीना बालकोट पुग्दा मनोज गजुरेल घरमा नभएको तर उनले मनोजकी ८५ वर्षीया आमालाई धम्की दिएर घरमा ताला लगाउने प्रयास गरेको बताइएको छ । छिमेकीले प्रहरीलाई खबर गरेपछि प्रहरी पुगेर मीनालाई नियन्त्रणमा लिएको थियो ।
उनीविरुद्ध सामाजिक सञ्जालमा मनोजको बदनाम गरेको भन्दै साइबर अपराधमा उजुरी परेको छ । पनि आइतबार मनोजको घरमा ताला लगाउन खोज्दा मीना पक्राउ परेकी हुन् । मनोज गजुरेलले भने सम्बन्धविच्छेद पश्चात अर्को विवाह गरिसकेका छन् ।