Kath khabar
चलचित्र ‘मोदीबेनी’को गीत ‘मन्जुरी’ सार्वजनिक, रोमान्टिक भावमा वर्षा र अमरको दमदार नृत्य


                काठमाडौं, असार २४ । श्रावण १८ गते रिलिज हुने नेपाली चलचित्र ‘मोदीबेनी’को पहिलो गीत सार्वजनिक भएको छ । काठमाडौंको सिभिल मलस्थित क्युएफएक्स सिनेमा हलमा पत्रकार भेटघाटको आयोजना गर्दै ‘मन्जुरी’ शीर्षकको रोमान्टिक गीत सार्वजनिक गरिएको हो ।

यो गीत इन्टरनेटमा ओएसआर डिजिटलको युट्युब च्यानल मार्फत हेर्न सकिन्छ । मोदीबेनीको एक महत्त्वपूर्ण अंशको रूपमा रहेको गीतले वर्षा र अमरको प्रेम अंकुरण देखिको यात्रालाई चर्चा गरेको छ । एसडी योगी र विज्ञान पराजुलीको आवाजमा रहेको यो गीतको सङ्गीत एसडीले नै गरेका छन् भने राम अविरल बिस्टले शब्द रचना गरेका छन् । सङ्गीत निर्माता रिकेश गुरुङ हुन् ।

अभिनेत्री वर्षा सिवाकोटी र नव अभिनेता अमर प्रताप श्रेष्ठ गीत सार्वजनिक कार्यक्रमको केन्द्र बने । सिवाकोटी र श्रेष्ठले किरण थापाले कोरियोग्राफी गरेको यस गीतमा सुन्दर अभिनय गरेका छन् । गीतमा उत्सव दाहालले छायांकन र भरत रेग्मीले सम्पादन गरेका छन् । नव अभिनेता श्रेष्ठले आफ्नो अभिनयको पहिलो पाइलामा नै सशक्त टिमसँग काम गर्न पाउँदा खुसी व्यक्त गरे।

“यो मेरो पहिलो प्रयास हो । मलाई यहाँहरूको साथको जरुरत छ । पछिल्लो समय नेपाली चलचित्रमा धेरै नयाँ अनुहारहरूको प्रवेश भइरहेको छ, त्यो मध्ये एक बनेको छु । कला सहितको अभिनेता बन्ने सपना पछ्याउँदै मोदीबेनी मार्फत डेब्यु गरेको छु,” अमरले भने, “म आम दर्शकको चाहना अनुसारको प्याकेज अभिनेता बन्न चाहन्छु। मेरो पहिलो फिल्ममा नै किरण थापा जस्तो कोरियोग्राफर पाउनु अहोभाग्य हो। को–एक्टरको रूपमा वर्षा सिवाकोटी जस्तो अनुभवी नायिकासँग अभिनय गर्न पाउँदा धेरै कुरा सिक्न पाएको छु । मलाई विश्वास गरेर आफ्नो पनि पहिलो फिल्म हुँदा हुँदै पनि मलाई डेब्यु गराउने निर्देशक शंकर कोइराला, पहिलो फिल्म बनाइरहेको समयमा पनि मलाई विश्वास गरेर लगानी गर्नै निर्माताहरू दिलीप केसी र हरि श्रेष्ठलाई विशेष धन्यवाद दिन चाहन्छु ।”

अभिनेत्री वर्षा सिवाकोटीले चलचित्र सुन्दर बनेको बताइन् । आफ्नो जोडीको रूपमा यस चलचित्रमा देखिने कलाकार अमरको कामको उनले तारिफ गरिन् । वर्षाले चलचित्रबाट आफूले निकै आशा बोकेको बताइन् । चलचित्रको बारेमा बोल्दै उनले भनिन्, “यो चलचित्रको टिम नयाँ भए पनि सशक्त छ । म यसको हिस्सा बन्न पाउँदा खुसी छु। चलचित्रले हाम्रै आफ्नै कथा भन्छ र यसमा विश्वासै नलाग्ने सामाजिक घटना देख्न सकिनेछ।” अभिनेता सरोज खनालले बिहानीले दिनको अवस्था दर्साउँछ भनेजस्तै यो गीतले चलचित्रको भविष्य देखाएको प्रतिक्रिया दिए ।

कार्यक्रममा चलचित्रका निर्देशक शंकर कोइराला, निर्माता द्वय दिलीप केसी र हरि श्रेष्ठ, डिओपी उत्सव दाहाल, सम्पादक भरत रेग्मी, कोरियोग्राफर किरण थापा, यस चलचित्रका अन्य कलाकारहरू सरोज खनाल, प्रवीण खतिवडा, रेजिना उप्रेती, दिलीप केसी, जीवन भट्टराई, कमलमणि नेपाल, सुब्रतराज आचार्य लगायत चलचित्र टिमका अन्य सदस्यको पनि उपस्थिति थियो । चलचित्रमा अनामिका लामिछाने, पूजन श्रेष्ठ, गोविन्द सुनार, लविस गर्तौला, शेर बहादुर बराल, रोजी श्रेष्ठ, हिउवाला गौतम, स्नेहा भट्टराई लगायतको पनि अभिनय रहेको छ ।

चलचित्रको अर्को गीतमा शान भुसालको शब्द तथा सङ्गीत रहेको छ भने स्वरूप राज आचार्य र एरिका क्षेत्रीको स्वर रहेको छ । डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको यो चलचित्र पर्वत जिल्लाको मोदीबेनी क्षेत्रमा घटेको विश्वास गर्नै गाह्रो हुने तर यथार्थ घटनामा आधारित रहेर बनेको छ। चलचित्रलाई आनन्द विक्रम क्षेत्रीले लेखेका छन् ।
चलचित्रमा दीपेन्द्र गौतम (माइकल)को प्रोडक्शन डिजाइन, श्याम बरालको मेकअप, गीता पौडेलको हेयर डिजाइन, भीम श्रेष्ठको ड्रेस डिजाइन र सगुन तामाङको प्रमुख सहायक निर्देशन, शैलेश श्रेष्ठ र रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर, शैलेश श्रेष्ठको साउन्ड डिजाइन, राजेन्द्र मोक्तानको कलर ग्रेडिङ, समीर मियाँको भिएफएक्स रहेको छ । ट्राइडेन्ट कन्सेप्टको पोस्टर तथा सोसल मिडिया पब्लिसिटी डिजाइन रहेको गर्ने यस चलचित्रलाई रिच इन्टरटेन्मेन्टले काठमाडौं उपत्यका र एफडी कम्पनीले उपत्यका बाहिर वितरण गर्दैछन् ।

 

 

प्रकाशित मिति: सोमबार, असार २४, २०८१  १६:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update