Kath Khabar
वैदेशिक रोजगारमा जानेलाई जोन्सन खोपको व्यवस्था गर्न सीसीएमसीलाई पत्र 

काठमाडौं, असार ३० । वैदेशिक रोजगारमा जानेलाई जोन्सन एण्ड जोन्सन खोपको व्यवस्था मिलाउन वैदेशिक रोजगार विभागले सरकारलाई आग्रह गरेको छ । वैदेशिक रोजगारमा जानेलाई जोन्सन एण्ड जोन्सन खोपको व्यवस्था मिलाउन विभागले कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) लाई बुधबार पत्राचार गरेको छ । सचिवस्तरीय निर्णय गरी बुधबार विभागले पत्राचार गरेको हो । 

प्रमुख श्रम गन्तव्य मुलुकहरुले खोप लगाएकालाई आफ्नो मुलुकमा कामका लागि आउन दिने निर्णय गरे सँगै विभागले युवाहरुको लागि खोप उपलब्ध गराउन केन्द्रसँग आग्रह गरेको हो। यसअघि सरकारले वैदेशिक रोजगारीमा जानेलाई भेरोसेल खोप उपलब्ध गराउने निर्णय गरेको थियो ।

नेपाली श्रमिकहरुका अधिकांश गन्तव्य मुलुकहरुले भेरोसेल खोपलाई मान्यता नदिएकाले पनि जोन्सन एण्ड जोन्सन खोपको व्यवस्था मिलाउन केन्द्र समक्ष आग्रह गरिएको विभागको भनाई रहेको छ । भेरोसेल खोप पहिलो डोज लगाएपछि दोस्रो डोज लगाउन कम्तिमा चार हप्ताको अन्तर हुनुपर्ने छ भने जोन्सन खोप एक मात्रा लगाए पुग्छ । जसले गर्दा विदेश जाने युवाहरुलाई सहज हुने देखिन्छ । 

प्रकाशित मिति: बुधबार, असार ३०, २०७८  २०:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update