काठमाडौं, बैशाख ६ ।
म्याक्स ओ’डाउडले डच क्रिकेट इतिहासकै पहिलो टि–ट्वान्टी अन्तराष्ट्रिय शतक प्रहार गरेपछि काठमाण्डौँमा जारी त्रिकोणात्मक सिरिज अन्तर्गत दोस्रो खेलमा नेदरल्याण्ड्सले मलेसियालाई १५ रनको झिनो अन्तरले पराजित गरेको छ ।
किर्तीपुरस्थित त्रिवी मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा दुइ विकेट गुमाएर एक सय ९१ रनको विशाल योगफल बनायो । ६६ रनमा दुइ विकेट गुमाएको अवस्थाबाट लय समाएको नेदरल्याण्ड्सका लागि ओ डाउडले अवीजीत एक सय ३३ रनको शतकिय पारी खेले । उनले ७३ बलको सामना गर्दा १५ चौका र ६ छक्का प्रहार गरे । डच क्रिकेटमा इतिहास व्यक्तिगतरुपमा कुनै खेलाडीले बनाएको यो सबैभन्दा ठुलो रन हो । यस अघि यो किर्तीमान वर्तमान कप्तान पिटर सिलारको रहेको थियो । उनी ९६ रनमा नटआउट रहेका थिए । सिरिजको पहिलो खेलमा भने उनी सन्दिप लामिछानेको बलमा मात्र १० रनमा आउट भएका थिए । पहिलो खेलमा नेपालसँग ९ विकेटको हार ब्येहोरेको नेदरल्याण्ड्सले दोस्रो खेलबाट पुनरागमन गरेको हो । स्कट एडवार्डसले ३१ रनको पारी खेले भने बेन कुपर २० रनमा अविजित रहे । बलिङ तर्फ पवनदिप सिंह तथा अनवार रहेमानले एक एक विकेट लिए । जवाफमा एक सय ९२ रनको विशाल योगफल पछाएको मलेसिया निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ७६ रनको सम्मानजनक योगफल बनाउन सफल भयो । विरनदिप सिहंले ८७ रनको अर्धशतकिय पारी खेले पनि टिमको हार भने टार्न सकेनन् । ५३ बलमा ६ चौका र ६ छक्का प्रहार गरेका विरनदिप १९ ओभरको चौथोबलमा आउट भएपछि मलेसिया पराजित भएको हो । उनी बाहेक सार्भिन मुनिएन्डीले २८ तथा आमिनउदिन र्यामलेले २६ रनको पारी खेले । बलिङ तर्फ आर्यन डट, बास डि लिड तथा सेभास्टियन बा्रटले दुइ दुइ विकेट लिए । प्रतियोगिताको तेस्रो खेल अर्थात भोली मलेसियाले घरेलु टोली नेपालसँग प्रतिस्पर्धा गर्नेछ ।