काठमाडौं, असार ३१ । आइएमई पे र ई-कमर्स प्लेटफर्म दराजबीच सम्झौता भएको छ । सम्झौता अनुसार दराजका सेवाग्राहीहरुले दराजबाट समान खरिद गर्दा आइएमई पेबाट सजिलै भुक्तानी गर्न सक्नुहुनेछ । साथै, यहि साउन १ गतेबाट शुरू हुने १ रुपैयाँ गेम र साउन ३ गतेबाट शुरू हुने दराज महाबचत उपहार योजनामा सहभागी भइ आईफोन १२ लगायत थुप्रै उपहार प्राप्त गर्न सक्नु हुनेछ । सम्झौता पत्रमा आइएमई पेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास कुमार नाहाटा र दराज केमु प्रा.लि नेपालका प्रबन्ध निर्देशक लिनो अह्लेरिङ्गले हस्ताक्षर गर्नुभएको छ ।
बुधवार पानीपोखरी स्थित आइएमई ग्रुपको केन्द्रीय कार्यालयमा आयोजित सम्झौता आदानप्रदान कार्यक्रममा बोल्दै आइएमई डिजिटल सोलुसन लिमिटेडका अध्यक्ष एवम् आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले दराज जस्तो ई-कमर्श कम्पनी र आइएमई पे जस्तो डिजिटल भुक्तानी सेवा प्रदायकबीच भएको सहकार्यले नेपाल सरकारले अघि सारेको डिजिटल नेपाल अभियानमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताउनुभयो । साथै, प्रबन्ध निर्देशक ढकालले कोभिड-१९ ले प्रभावित साना तथा मझौला उद्योगव्यवसायलाई डिजिटल माध्यमबाट बजारसँग जोडी डिजिटल कारोबारको माध्यमबाट व्यवसायको अभिवृद्धिमा दराज र आइएमई पेले सक्दो भूमिका खेल्ने प्रतिवद्वता व्यक्त गर्नुभयो ।
आइएमई डिजिटल सोलुसन लिमिटेडका बारेमाः
झन्डै ३५ हजार एजेण्ट आउटलेट संजाल भएको ‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली-२०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो । यस्तो अनुमति पाउने आइएमई डिजिटल देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो ।
आइएमई डिजिटलले ‘आईएमई पे’ ब्रान्ड अन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउनेछ र यसको मद्दतबाट सेवाग्राही आफैले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइल मार्फत् विभिन्न किसिमका भुक्तानी सम्बन्धी कार्य गर्न सक्नेछन् । यसले व्यक्ति-व्यक्तिका बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यु आर मार्फत भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बीलहरू भुक्तानीमा सेवा प्रदान गर्दै आइरहेको छ ।
आइएमई डिजिटलले बैंकको सुविधाबाट वञ्चित तथा न्यून बैंकिङ्ग सुविधा प्राप्त नेपाली लगायत सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको छ । मोबाइल वालेटमा ब्याज र क्यास ब्याकको पनि सुविधा उपलब्ध छ । विभिन्न प्रकारका बिल भुक्तानी एवम् जुनसुकै बैंकका खातामा रकम पठाउन मिल्ने आइएमई पे वालेटको अर्को महत्वपूर्ण विशेषता हो ।