Kath khabar
सृष्टिसँगै त्रिशूलीमै बग्यो यादव परिवारको सपना



                बारा, असार ३० । कलैया उपमहानगरपालिका-१४ निवासी २६ वर्षीया सृष्टि यादव शुक्रबार भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरामा परी त्रिशूलीमा खसेका बससँगै बेपत्ता हुनुहुन्छ ।

रेडियोग्राफीको तालिमपछि पर्साको सखुवा प्रसौनी गाउँपालिकामा रेडियोग्राफरका रूपमा कार्यरत उहाँ परिवारको सहारा हुनुहुन्थ्यो । जागीरे भए पनि उहाँ सन्तुष्ट हुनुहुन्थेन, त्यसैले थप कमाइका लागि विदेश जान भनेर उहाँ परीक्षाका लागि काठमाडौँ जाँदै हुनुहुन्थ्यो तर काठमाडौ नपुग्दै त्रिशूलीमै बेपत्ता हुनुभयो । योसँगै उहाँको परिवारको सपनासमेत त्यही अस्ताएको छ ।

सृष्टिका बुबा जगदीशप्रसाद यादवले जापान जान परीक्षा दिन काठमाडौँ गएकी छोरी शुक्रबार बससँगै त्रिशूलीमा बेपत्ता भएको बताउनुभयो । दुई दिनदेखि दुर्घटनास्थलमा रहनुभएका उहाँ भन्नुहुन्छ,“छोरी काठमाडौँ गएको १० बजे राति कुरा गरेर बुबा म काठमाडौँ जाँदैछु, परीक्षा दिएर भाइसँग भेट गरेर फर्किन्छु, त्यहाँ पुगेपछि म हजुरसँग कुरा गर्छु भन्थि तर त्यसअघि नै त्रिशूलीमा अस्ताइन् ।”

छोरीको शवको पर्खाइमा जगदीश रातदिन त्रिशूली नदीको किरानामा भौतारिरहनुभएको छ । “छोरीको सपना पूरा भएन, उसँगै हाम्रो सपना पनि त्रिशुलीले बगायो तर अब अन्तिम इच्छा छ छोरीको शव भेटाएर आफ्नो संस्कारअनुसार दाहसंस्कार गर्न पाइयोस्”, उहाँको भनाइ छ ।
---

 

प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  ११:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update