नयाँ दिल्ली, असार ३० । रिलायन्स इन्डस्ट्रिजका मालिक मुकेश अम्बानीका कान्छो छोरा अनन्त अम्बानीले राधिका मर्चेन्टसँग विवाह गरेका छन् । जुलाई १२ मा मुम्बईको जियो वल्र्ड कन्भेन्सन सेन्टरमा भव्य समारोहमा विवाह निकै धूमधामका साथ भएको थियो । यस अवसरमा अनन्तले आफ्ना सबै विशेष साथीहरूलाई २ करोड रुपैयाँको ‘औडेमार्स पिगुएट’ घडी उपहार दिएर सबैलाई चकित पारेका थिए । यी साथीहरूमा शाहरुख खान र रणवीर सिंह पनि परेका थिए ।
विवाहमा उपस्थित धेरै अतिथिहरूले यो विशेष उपहारको भिडियो सेयर गरेका छन्। ‘औडेमार्स पिगेट’ को यो घडी १८ क्यारेट गुलाबी सुनले बनेको छ । 'म्यानुफ्याक्चर क्यालिबर ५१३४ सेल्फ-वाइन्डिङ मुभमेन्टको विशेषता रहेको यो घडीमा हप्ता, दिन, मिति, खगोलीय चन्द्रमा, महिना, लीप वर्ष, घण्टा र मिनेट देखाउने 'पर्पेचुअल क्यालेन्डर पनि छ।
अनन्त अम्बानी र राधिका मर्चेन्टको बिहेमा धेरै बलिउड स्टार र खेलकुदका हस्तीहरु सहभागी भएका थिए । विवाहमा प्रियंका चोपडासँगै शाहरुख खान, रणवीर सिंह, रणवीर कपूर, आलिया भट्ट, कृति सेनन, अनन्या पाण्डे, शनाया कपूर, ऐश्वर्या राई, वरुण धवन, रजनीकान्त, अनिल कपूर र निक जोनस जस्ता स्टारहरु सहभागी भएका थिए । रणवीर सिंह र प्रियंका चोपडाको नृत्य प्रस्तुतिले जमघटलाई मोहित बनाएको थियो । यसै क्रममा रजनीकान्तले पनि रणवीरसँग ‘गल्ला गुडियाँ’ गीतमा डान्स गरेर सबैलाई चकित पारेका थिए ।