काठमाडौं, असार ३१ । कल्पना परियारलाई सुटिङ खेलाडी बन्छु भन्ने कहिले थिएन । उहाँलाई भाग्यले सुटिङमा तान्यो र डोहोराएर ओलम्पिकसम्म पुरायो । सुटिङको पहिलो खेल खेल्दासम्म उहाँलाई थाहा नै थिएन, यस बारेमा भन्दा फरक नपर्ला ।
खेलाडी भन्दा अघि उहाँ फौजी हुनुहुन्छ । राइफल उहाँको पहिलो प्रेम हो । मात्रै सात वर्ष भयो उहाँ यो पेशामा लाग्नु भएको । तर भाग्य भन्ने कि मेहेनत, २६ वर्षको उमेरमा उहाँ ओलम्पिकमा सहभागिता जनाउन लाग्नु भएको छ । ओलम्पिक हरेक खेलाडीको लागि एउटा सपना हो । जसमा खेल्ने मौका निकै कम खेलाडीले पाउँछन् । त्यस्तै भाग्यमानी खेलाडीमा पर्नुहुन्छ, कल्पना । उहाँले वाइल्ड कार्डमार्फत त्यहाँसम्मको बाटो खेल्नु भएको हो । टोकियो ओलम्पिकमा छनोट हुने उहाँ पहिलो नेपाली खेलाडी हुनुहुन्छ । उहाँले ओलम्पिकमा दश मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नुहुनेछ ।
कल्पनाको मुहार सँधै हसिलो हुन्छ । प्राय सुटिङका खेलाडीहरु आक्रमक स्वाभावका हुन्छन् । भारी पोशाक, हातमा राइफल अनि टार्गेटमा एकोहोरो ध्यान सुटरहरुको शारीरिक आवरण हो यो । तर कल्पनालाई कहिले भेट्नु भयो भने तपाईँलाई पक्कै लाग्नेछ कि यो कुराहरु भ्रम हुन् । कल्पनासँग राइफल पछि हुने भनेको हासोँ हो । हासीँमात्र रहने, बोल्दा, टार्गेट मिस गर्दा पनि ।
कल्पनाको करियर
एशियाली खेलकुद दक्षिण एशियाली खेलकुद, एशियन च्याम्पियनसिप लगायतका अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरिसक्नु भएको छ । ओलम्पिक भने पहिलो पटक खेल्न लाग्नु भएको हो । उहाँको रोजाइमा पहिले खेलकुद थिएन सुटिङ त उहाँको कल्पना बाहिर थियो । उहाँ त्यो भन्दा अघि सेनामा भर्ती हुनुभयो । त्रिशुलीमा सेनाको एकवर्षे आधारभुत तालिम गर्नुभयो । सेनामै भएको फायरिङ प्रतिस्पर्धा उहाँ ६ सय भन्दा बढिलाई उछिन्दै अब्बल सावित हुनुभयो । सायद उहाँ सुटिङकै लागी जन्मिनु भएको थियो । उहाँको सुटिङ क्षमता देखेर सेनाले सुटिङ खेलका लागि क्लबमा बोलायो तर यहाँ सम्म पुग्दा उहाँलाई थाहा थिएन सुटिङ पनि खेल हो भनेर । बिस्तारै उहाँलाइ बानि हुँदैगयो ।
सेनामै उहाँले सबै तालिम प्राप्त गर्नुभयो । उहाँ जस्तै सुटिङबारे परिवारलाई थाहा थिएन । सुरुमा सुटिङ नलाग्न समेत उहाँको परिवारले आग्रह गर्नुभयो । न देख्दासम्म सुटिङ के त्यो बुझाउन गाह्रो हुन्छ । अभ्यास गरेको मात्रा २० दिनमा उहाँले राष्ट्रिय च्याम्पियनसिप खेल्नु भयो र दोस्रो हुनुभयो । २०७१ सालतिरको कुरा हो । उहाँले त्यो बेला निसानामा कसरी लाग्यो भन्ने पनि थाहा भएन न त कसरी फाइनल चरण पुगेर पदक पाएको याद छ उहाँलाई । खेल्छु जित्छु भन्दा पनि सहभागिता जनाउँछु जे हुन्छ । ठिकै छ भन्ने लागेको थियो । बिस्तारै क्लबबाट उहाँलाई हौसला पनि मिल्यो र उहाँ यसमै रमाउन थाल्नु भयो । इन्डोनेसियामा भएको एशियन गेम्समा छनोट भएपछि भने उहाँलाई लाग्यो अब चाहिँ म खेलाडी हुँ । देशलाई जिताउनु मेरो जिम्मेवारी हो ।
परिवारको साथ
उहाँको परिवारमा बुबा आमा र एक बहिनी छन् । उनको जीवनको प्रेरणाको स्रोत उनको परिवार नै हो । घरमा दुई छोरी हुँदा बुबा आमाले छोराको चाहना राखेनन् । मधेशमा जन्मिएकी उहाँले त छोरी होस् भन्ने वातावरणको कहिल्यै सामना गर्नुभएन । परिवारले सदैव आफुमाथि विश्वास गरेको कल्पना बताउँनुहुन्छ । उहाँले प्राप्त गर्नुभएका हरेक सफलताका पछाडि यो विश्वासले पनि ठुलो भूमिका खेलेको छ । ओलम्पिक पछि पनि उहाँ निरन्तर सुटिङ खेलमा नै हुनुहुन्छ । सुटिङ त्यस्तो खेल हो जसलाई उमेर तौलले रोक्दैन ।
सागमा भएको त्यो बिजोक
सागमा खुलेरै भन्नु पर्दा सुटिङको जस्तो बिजोग कुनै खेले पनि भएन । नेपालले सर्वाधिक ५१ स्वर्ण, ६० रजत र ९६ कास्य सहित सहित नेपालले कुल २ सय ७ पदक जित्यो । दक्षिण एसियाली खेलकुदमा यसलाई नेपालले पाएको सबैभन्दा गर्भिलो इतिहासको रुपमा हेरिन्छ तर सुटिङ पदक बिहीन भयो । कारण नेपाली खेलाडीले प्रायोग गर्ने बन्दुक खिया लागेका थिए । पड्कन सकेन । अरु देशसँग बन्दुक मागेर प्रतिस्पर्धा गरेको थियो नेपालले । यो समाचार धेरै पटक नै समाचारमा बज्यो । पत्रिकाले पनि खुब समाचार लेख्यो लज्जास्पद प्रदर्शन भनेर । सोही दुर्गती पछि अन्य खेलाडीसँगै उहाँको प्रदर्शनमा ह्रास आयो र उहाँले सामग्री भएपनि हार ब्येहोर्नुभयो । उहाँलाई त्यो सम्झिदाँ मन दुख्छ । सँगै आँट पनि आउँछ कि अब केही गरेर देखाउनु पर्छ ।
ओलम्पिकमा कल्पनाको लक्ष्य
कल्पना भन्नुहुन्छ, “ओलम्पिकमा नेपालले पदकको आश गर्ने वातावरण अझै बनिसकेको छैन । म आफुलाई सुधार गर्न चाहन्छु र यस अघि बनेका रेकर्ड तोड्न चाहन्छु । अहिलेसम्म सवै प्रतियोगितामा राम्रै गर्दै आइरहेकी छु आश छ टोकियामा पनि राम्रो नै हुनेछ।”
उहाँले अहिलेसम्म बनाएकोे उत्कृष्ट स्कोर ६ सय १४. ५ अंक हो । उहाँका प्रशिक्षक असिम यादवले पनि कल्पना अहिले लयमा रहेको बताउनु हुन्छ । कल्पनाको क्षमताबाट केही आशा गर्न सकिने र यो खेलमा कहिलेकाँही भाग्यले पनि साथ दिने बताउनुहुन्छ ।
कस्तो भइरहेको छ त तयारी ?
अहिले राष्ट्रिय खेलकुद परिषदले उहाँसहित तीन जना ओलम्पिक खेल्ने खेलाडीलाई होटलमा राखेको छ । त्यहीबाट उहाँ सातदोबाटोको सुटिङ रेञ्जमा जानुहुन्छ । नेपाल ओलिम्पिक कमिटीको छात्रवृतिमा सन २०१९ को मे देखि उहाँ प्रशिक्षणमा हुनुहुन्छ । सुरुवाती दिनमा लकडाउनका कारण उहाँको अभ्यासमा असर परेको थियो तर त्यसपछि भने उहाँ निरन्तर अभ्यासमै हुनुहुन्छ । मानिसक रुपमा भने कोरोनाले केही कमजोर बनाएको छ । नेपाल सुटिङ संघले पनि उहाँको अभ्यासमा कुनै कमी गरेको छैन । कल्पनाले आफ्नो खेल जीवनमै अहिले जस्तो उच्च स्तरको प्रशिक्षण नपाएको बताउनु हुन्छ ।
खेल सामग्री पनि उच्च स्तरको पाइरहेको उहाँको भनाई छ । टोकियो ओलम्पिक आगामी जुलाई २३ सुरु हुँदैछ । दुई साता भित्र उहाँ त्यसतर्फ लाग्नु हुनेछ । तर कल्पनालाई कल्पना जस्तो मात्र लागिरहेको छ । बुझ्दा मात्र राष्ट्रिय च्याम्पियनसिपको पदक जित्नु भयो । केही समय पछि एसियाली र दक्षिण एसियाली प्रतियोगिता । अबको गन्तव्य ओलम्पिक । कल्पनाको प्रदर्शन उच्चस्तरीय होस् । हाम्रो शुभकामना !