Kath khabar
पशुपतिनाथ मन्दिरमा आउने भक्तजनका लागि तयारी पूरा


                 काठमाडौं, असार ३१ । पशुपतिनाथ मन्दिर परिसरमा साउन महिनाको सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । साउन भगवान् शिवको महिना भएकाले पशुपतिमा भक्तजनको बढी भीड लाग्ने गर्छ ।

यस वर्ष साउन महिनामा पशुपति क्षेत्रमा कोटी होम र शिवपुराणको पाठ पारायणजस्ता कार्यक्रम राखिएकाले विगत वर्षमा भन्दा अझ बढी भीड हुने भएकाले सुरक्षा बैठकलगायत तयारी गरिएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले राससलाई जानकारी दिनुभयो । पशुपति क्षेत्रमा आजैदेखि चहलपहल सुरु भएको छ ।

साउनका चार सोमबार, चार शनिबार, नागपञ्चमी, गुरुपूर्णिमामा बढी भीड हुने भएकाले त्यसैअनुसार तयारी गरिएको उहाँले बताउनुभयो । साउनमा पशुपतिनाथ मूल मन्दिरका चारै ढोका बिहान तीन बजेदेखि खुला गरिने छ । कोषले असार १ गतेदेखि पशुपतिनाथका चारै ढोका भक्तजनका लागि खुला गर्न थालेको थियो । साउन महिनामा आउने भक्तजनका लागि सहज होस् भनी चारै ढोका बिहान तीन बजेदेखि नै खुला गर्न लागिएको हो ।

हरितालिका (तीज), बाला चतुर्दशी, महाशिवरात्रि, वैशाख १ गतेको नयाँ वर्ष, अक्षय तृतीया, जनैपूर्णिमाजस्ता पर्वमा एक वा दुई दिन पशुपति क्षेत्रमा भीड हुने भएपनि साउन महिनामा भने महिनैभर भक्तजनको विशेष भीड लाग्ने गर्छ ।

पशुपति क्षेत्रमा लाग्न सक्ने भीडलाई व्यवस्थित गर्ने गरी कोषले स्वयंसेवकसमेत खटाउने जनाइएको छ । साउने मेलाका लागि दमकल, एम्बुलेन्सको पनि व्यवस्था गरिएको छ ।

साउनमा भक्तजनले सुन्दरीजलस्थित वाग्मती नदीको शुद्ध जल पशुपतिमा ल्याई चढाउने बोल बम मेलाका कारण पनि भीड हुने गरेको छ । बोल बम मेलामा नेपालका मात्र नभई भारतीय पर्यटक पनि सहभागी हुने गरेका छन् ।
---

 

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  २१:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update