Kath khabar
उपप्रधानमन्त्री सिंहसँग भारतीय राजदूतको शिष्टाचार भेट


                काठमाडौं, साउन १ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । मन्त्री सिंहको कार्यकक्षमा भएको उक्त भेटमा उहाँहरुबीच द्विपक्षीय हित र आपसी चासोका विविध विषयमा छलफल भएको थियो ।

उक्त मन्त्रालयका अनुसार राजदूत श्रीवास्तवले मन्त्री सिंहलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै पारस्परिक सहयोग अभिवृद्धिका निम्ति भारत सरकार तयार रहेको बताउनुभयो ।  

मन्त्री सिंह र राजदूत श्रीवास्तवबीच सहरी विकास, नदी प्रदूषण नियन्त्रण र फोहरमैला व्यवस्थापनमा भारतले गर्न सक्ने सहयोग बारेमा पनि छलफल भएको उक्त मन्त्रालयका सचिव मणिराम गेलालले बताउनुभयो । भारत सरकारको सहयोगमा नेपालमा निर्माणाधीन आयोजनाको समीक्षा भएको थियो । दुई देशका सीमा क्षेत्रमा निर्माणाधीन एकीकृत भन्सार जाँच चौकीका बारेमा छलफल भएको सचिव गेलालले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीलाई पाकिस्तानी समकक्षीद्वारा शुभकामना
 पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको प्रधानमन्त्रीका रूपमा चौथोपटक कार्यभार सम्हाल्नुभएकामा हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्नुभएको छ ।

पाकिस्तानी प्रधानमन्त्रीले प्रधानमन्त्री ओलीको कार्यकालको सफलताको कामना गर्दै पाकिस्तान–नेपाल सम्बन्धलाई अझ सुदृढ तुल्याउन उहाँसँग निकट सम्पर्कमा रहेर काम गर्न आफू उत्सुक रहेको बताउनुभएको छ ।

यहाँस्थित पाकिस्तानी राजदूतावासका अनुसार प्रधानमन्त्री ओलीको कार्यकालमा द्विपक्षीय सहयोगका साथै क्षेत्रीय सहयोग अभिवृद्धिमा योगदान पुग्ने विश्वास प्रधानमन्त्री शहबाजले व्यक्त गर्नुभएको छ । (रासस)
–––

 

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  १३:११
प्रतिक्रिया दिनुहोस्
Weather Update