Kath khabar
साउन महिनामा हरियो रंगको के छ विशेषता  ?

 

                काठमाडौं, साउन १ । हिन्दु धर्ममा साउन महिनालाई विशेष मानिन्छ । यो महिनालाई भगवान शिवलाई समर्पित श्रावण महिना पनि भनिन्छ । साउन महिनामा भगवान शिवको पूजा गर्नाले शुभ फल प्राप्त हुन्छ भन्ने विश्वास छ  । साउनमा पर्ने सोमबार र मंगलबार पनि निकै महत्वपूर्ण मानिन्छ ।

यस महिनामा पूर्ण भक्तिपूर्वक पूजा गर्दा भगवान शिव पक्कै पनि प्रसन्न हुन्छन् । हिन्दू धार्मिक मान्यता अनुसार साउन महिनामा विश्वका रचयिता भगवान विष्णु योग निद्रामा जानुहुन्छ । यस्तो अवस्थामा सृष्टिको व्यवस्थापन भगवान शिवले गर्नुहुन्छ । साथै, समुन्द्र मन्थन भएको महिना पनि यही महिना हो र विष पिएपछि भगवान शिवको नाम नीलकण्ठ भयो । साउन महिनामा नै माता पार्वतीले कठोर तपस्याले महादेवलाई प्रसन्न पार्नुभयो र शिव र शक्तिको मिलन सुरु भएको थियो ।

साउनमा केही विशेष रंगहरुको पनि विशेष महत्व हुन्छ । साउन महिना प्रकृतिसँग जोडिएको र यस महिनामा हरियो रङको लुगा लगाउनु निकै महत्वपूर्ण मानिन्छ । यस महिनामा हरियो रंगलाई प्रमुख मानिन्छ।

हरियो रङ र मनसुनको सम्बन्ध
साउन महिना प्रकृतिसँग सम्बन्धित छ र हरियो प्रकृतिको रंग हो । यस अवधिमा भारी वर्षाका कारण जताततै हरियाली छाएको छ । प्रकृतिको रंग हुनुका साथै यो रंग सौभाग्यसँग पनि जोडिएको छ । भनिन्छ कि यस रंगको माध्यमबाट मानिसहरूले प्रकृतिप्रति कृतज्ञता प्रकट गर्छन् । धार्मिक मान्यता अनुसार भगवान शिवलाई हरियो रङ निकै मनपर्ने भएकाले साउनमा हरियो रङ लगाइन्छ ।

साउन महिनामा महिलाले हरियो चुरा र हरियो साडी लगाउनाले जीवनमा सुख र सौभाग्य बढ्छ भनिन्छ । यसका साथसाथै महिलाहरूले पनि यस समयमा मेहन्दी लगाउँछन्, जसलाई हरियो रंगका कारण शुभ मानिन्छ।

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  १४:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update