Kath khabar
शेषनारायणमा दर्शनार्थीको घुइँचो


                काठमाडौं, साउन २ । काठमाडौंको उत्तरी भेगस्थित शेषनारायण मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । दक्षिणकाली नगरपालिकाको फर्पिङमा पर्ने उक्त मन्दिरमा प्रत्येक वर्ष असार शुक्ल एकादशीका दिन मेला लाग्छ ।

यहाँ आउने भक्तजनलाई व्यवस्थित गर्न स्थानीय जनप्रतिनिधि र सुरक्षाकर्मी खटिएका छ्न् । काठमाडौँ उपत्यकाका चार नारायणमध्ये शेषनारायण मन्दिरलाई एक महत्त्वपूर्ण तीर्थस्थलका रूपमा लिइन्छ । असार शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने हिन्दू धर्मावलम्बीहरूको विश्वास छ । मन्दिरमा आजको दिन दर्शन तथा उपासना गरेमा पारिवारिक सुख, शान्ति तथा पुण्य सञ्चय हुने विश्वास छ । यसैबीच देशभरका नारायण मन्दिरमा विष्णुको दर्शन गर्न आज भक्तजनको घुइँचो लागेको छ ।  

तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिने भएकाले घरघरमा तुलसीको बिरुवा सार्ने चलन छ ।

कालीगण्डकीमा स्नान गर्नेको घुइँचो
महत्वपुर्ण पर्व हरिशयनी एकादशीका अबसरमा पवित्र कालीगण्डकी नदिमा स्नान गर्नेको आज बिहानैदेखि घुइँचो लागेको छ ।

पर्वतको प्रसिद्ध धार्मिक तीर्थस्थल मोदीवेणी, सेतीबेणीधाम, पुर्तिघाट, गोपाङ, नयाँपुल, खनियाघाट, मिलनचोक, वारीबेनी लगायतका नदि तटमा बिहानैदेखि स्नान गर्नेको घुइँचो लागेको छ । मोदी र कालीगण्डकी नदीको संगमको रुपमा रहेको मोदीबेणीधाममा भजन कृतनसहित विशेष कार्यक्रम समेत राखिएको छ ।

त्यस्तै पर्वत, स्याङ्जा र गुल्मी तथा गण्डकी र लुम्बिनी प्रदेशको सिमानामा रहेको विश्वकै ठूलो शालिग्राम शिला रहेको सेतीबेणीमा पनि स्नान गर्न टाढा टाढाबाट श्रद्धालुहरु आइपुगेका छन । मोदीवेणीमा  स्नान गर्नका लागि पर्वत, बागलुङ्ग,, स्याङ्गजा र कास्कीबाट हजारौको संख्यामा श्रद्धालुहरु आउने गर्दछन भने सेतीबेणीमा पनि बागलुङ्ग, पर्वत, पाल्पा, अर्घाखाँची, स्याङ्गजा र गुल्मीबाट श्रद्धालुहरु आएका छन् ।

मुक्तिनाथबाट बगेर आएको र साक्षात बिष्णुको अबतारको रुपमा पुजिँदै आएको शालिग्राम पाइने एक मात्र नदी भएकाले कालीगण्डकीमा स्नान गरी मोदीबेणी परिसरमा रहेको नृसिंह मन्दिरमा पुजा गरेमा मोक्ष प्राप्त हुने धार्मिक विश्वास छ । कालीगण्डकीमा स्नान गरेमा एक हजार गाई दान गरे बराबरको पुण्य मिल्ने भक्तजनको भनाई छ । हरिशयनी एकादशीको अबसरमा मोदीबेणी र सेतीवेणीमा भजन कृर्तन समेत आयोजना गरिएको छ । आजैका दिन कालीगण्डकीमा स्नान गरेर फर्केपछि घर घरमा रहेका तुलसीको मठमा तुलसी रोप्ने चलन छ । तुलसीको बिरुवालाई धार्मिक तथा स्वास्थ्यको दृष्टिकोणले निकै महत्वपुर्ण मानिन्छ । (रासस)
–––

 

प्रकाशित मिति: बुधबार, साउन २, २०८१  १०:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update