Kath khabar
गृहमन्त्री रमेश लेखकद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण तथा निर्देशन (तस्विरहरु)


                 काठमाडौं, साउन २ ।  गृहमन्त्री रमेश लेखकले बुधबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्नुभई उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिनुभयो ।

गृहमन्त्री लेखकलाई नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले हार्दिक स्वागत गर्नुभयो । सो क्रममा उहाँले नेपाल प्रहरी प्रधान कार्यालय परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पण गर्नुभयो । निरीक्षण भ्रमणका क्रममा गृहमन्त्री लेखकले नेपाल प्रहरी प्रधान कार्यालयमा रहेका सङ्ग्रहालय, पोलिग्राफ शाखा, डाटा सेन्टर र डिजिटल फरेन्सिक ल्यावको निरीक्षण गर्नुका साथै त्यस सम्बन्धी गतिविधिबारे जानकारी लिनुभयो ।

निरीक्षण पश्चात आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले कार्यक्रममा उपस्थित तथा भर्चुअल रूपमा उपस्थित प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन सम्बोधन गर्नुभयो । सो क्रममा उहाँले कानूनी व्यवस्था कायम गर्न, शान्ति सुरक्षा तथा अपराध अनुसन्धान एवम् नियन्त्रण गरी मुलुक वा समाजलाई न्याय दिने र सशस्त्र द्वन्द्वको क्रममा जीवनको पर्वाह नगरी निर्भिकतापूर्वक आफ्नो कर्तव्य पालना गर्ने सवालमा नेपाल प्रहरीले उत्कृष्ट कार्य गरेको चर्चा गर्नुभयो ।

गृहमन्त्री लेखकले नेपाल प्रहरीको इतिहास गर्व गर्न लायक रहेको उल्लेख गर्दै सीमित साधन स्रोतका बाबजुद पनि शान्ति सुरक्षा कायम गर्न, अपराध अनुसन्धान एवम् विपद्को समयमा उद्दार गर्न, जोखिमबाट बचाउन नेपाल प्रहरीले निर्वाह गरेको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । लोकतन्त्रको आधारभूत मान्यता विधिको शासनलाई लागू गर्नु नेपाल प्रहरीको पहिलो काम रहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले भन्नुभयो, ‘तपाईहरूले गर्नुभएको काम जनताले अनुभूति गर्ने विषयसँग जोडिन्छ । त्यसतर्फ यथेष्ट ध्यान रहनेछ भन्ने आग्रह गर्न चाहन्छु । निष्पक्षता, पारदर्शिता र व्यावसायिकतामा कुनै हालतले कमि हुनु भएन र यससँग सम्झौता हुन सक्दैन ।’ प्रहरी कर्मचारीहरूले उच्च मनोबलका साथ काम गर्नुपर्ने बताउँदै उहाँले यसका लागि जे जति प्रेरणादायी काम गर्नुपर्छ मन्त्रालय सदैव प्रतिवद्ध रहेको उल्लेख गर्नुभयो ।

गृहमन्त्री लेखकले मानिसलाई कुनै पनि विपद् वा समस्या परेको बेला सबै भन्दा पहिला प्रहरीकोमा पुग्ने चर्चा गर्दै  पीडामा भएका व्यक्तिहरूको समस्या सम्बोधनका लागि प्रहरी थप सक्रिय हुन निर्देशन दिनुभयो । प्रहरी संगठनलाई थप व्यवस्थित, क्रियाशील र सुदृढ बनाउनका लागि प्रहरीसँग सम्बन्धित ऐनको समसामयिक संशोधन र परिमार्जनलाई मन्त्रालयले प्राथमिकतामा राखेर काम गर्ने उहाँले बताउनुभयो ।  

सो अवसरमा गृहसचिव एकनारायण अर्यालले प्रहरीले सीमित स्रोत र साधनका बाबजुद अपराध नियन्त्रण, अनुसन्धान तथा विभिन्न प्राकृतिक प्रकोपका घटनाहरूमा अग्रपंक्तिमा रही निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै प्रहरीले कर्तव्य पालनाको सिलसिलामा भोग्नुपरेका समस्याहरूको समाधानका लागि सरोकारवाला मन्त्रालयहरूसँग समन्वय गरिरहेको र प्रहरी ऐनमा समेत समयसापेक्ष परिमार्जन गर्न मन्त्रालय कटिवद्ध रहेको बताउनुभयो ।

नेपाल प्रहरीको विकल्प भनेको सुधारिएको नेपाल प्रहरी नै रहेको बताउँदै गृहसचिव अर्यालले भन्नुभयो, ‘प्रहरी भनेको राज्य हो, राज्यले भेदभाव गर्न पाइँदैन । प्रहरीले स्वतन्त्र हिसाबले काम गरे मात्र संगठन अझ मजबुत हुन्छ ।’ प्रहरीको सक्रियताले अपराध नियन्त्रण तथा अनुसन्धान थप प्रभावकारी र राजस्व संकलनमा समेत उल्लेख्य वृद्धि भएको चर्चा गर्दै सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई प्रविधिको प्रयोग गरी उच्च मनोबलका साथ व्यावसायिक ढंगले कार्यसम्पादन गर्न निर्देशन समेत दिनुभयो ।

कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले गृहमन्त्रीज्यू एवम् गृहसचिबज्यूबाट व्यक्त भएको सारगर्भित, समयसापेक्ष र व्यावसायिक निर्देशन कार्यान्वयनका लागि संगठन पूर्ण प्रतिबद्ध रहेको बताउनुभयो । समाजमा शान्ति सुरक्षा अमन चयन कायम राख्ने, अपराधको नियन्त्रण तथा अनुसन्धान र जनधनको सुरक्षा गर्ने मूलभूत दायित्व वहन गर्ने जिम्मेवारीलाई विषम परिस्थितिहरूमा समेत संगठनका सदस्यहरूले सफलतापूर्वक निर्वाह गर्दै आएको उहाँले बताउनुभयो । आगामी दिनहरूमा उत्पन्न हुन सक्ने चुनौतिपूर्ण र असहज परिस्थितिहरूको सामना गर्न र आम नागरिकलाई शान्ति सुरक्षा र अमनचयनको प्रत्याभूति दिलाउन नेपाल प्रहरी व्यावसायिक रूपमा सक्षम तथा प्रतिवद्ध रहेको उहाँले उल्लेख गर्नुभयो ।

प्रहरी महानिरीक्षक कुँवरले नविनतम चुनौतिका रूपमा देखा परेका संगठित अपराध, लागूऔषध, मानवबेचबिखन, साइबर एवं विद्युतीय कसूर, अवैध हातहतियार ओसारपसार, बहुमूल्य सामग्रीहरूको ओसारपसार, आर्थिक अपराधलाई निर्ममतापूर्वक कानूनी दायरामा ल्याउन नेपाल प्रहरी कटिवद्ध रहेको बताउनुभयो । अपराधका नयाँ प्रवृत्तिहरूको पहिचान गर्दै तिनलाई निस्तेज गर्न नेपाल प्रहरीले आफ्नो क्षमता विस्तारका साथै अन्तर्राष्ट्रिय प्रहरी निकायहरू सँगको समन्वयलाई पनि प्राथमिकतामा राखेर कार्य गर्दै आएको उहाँले बताउनुभयो ।

निरीक्षण भ्रमणको क्रममा गृहमन्त्री लेखक समक्ष नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक दान बहादुर कार्कीले नेपाल प्रहरीको परिचय, संगठनको संरचना, मानवश्रोत तथा स्रोत साधन व्यवस्थापन, अपराध अनुसन्धान तथ्याङ्क तथा विश्लेषण, प्रहरी कार्य, शान्ति सुरक्षा तथा ट्राफिक व्यवस्थापन, प्रहरी मनोबल, उत्प्रेरणा र सुपरिवेक्षण, प्रहरी कार्यमा प्रविधिको प्रयोग, अन्तर्राष्ट्रिय समन्वय र सहायता, नीति तथा योजना कार्यान्वयनको अवस्था, उपलब्धि, भावी योजना, चुनौति, अपेक्षा र प्रहरी समायोजन लगायतका विषयमा नेपाल प्रहरीको संस्थागत प्रस्तुतीकरण गर्नुभएको थियो ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृह मन्त्रालयका सहसचिव तथा पदाधिकारीहरू, प्रहरी नायव महानिरीक्षकहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति एवम् ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, विभिन्न प्रहरी गणहरू, तालिम केन्द्रहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू एवम् सबै जिल्ला प्रहरी कार्यालयहरूका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।

_DSC3233-1721211928.JPG
DSC_9447-1721211834.JPG
DSC_9861-1721211843.JPG
DSC_9447-1721211834.JPG
DSC_9739-1721211835.JPG
_DSC3683-1721211873.JPG
 

 

प्रकाशित मिति: बुधबार, साउन २, २०८१  १६:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update