Kath Khabar
अवरुद्ध बेनी-दरबाङ सडक दश दिनपछि खुल्यो


                    गलेश्वर (म्याग्दी) साउन ७ । अवरुद्ध बेनी-दरवाङ सडक दश दिनपछि खुलेको छ । बेनी नगरपालिका-४ र मङ्गला गाउँपालिका-२ को सिमानामा पर्ने फापरखेतमा गत असार २८ गते पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।

चौबीस किलोमिटर सो सडक पश्चिम म्याग्दीको ‘लाइफ लाइन’ मानिन्छ । सडक अवरुद्ध हुँदा आवतजावत, निर्माण र खाद्यान्न सामग्री ढुवानीका साथै बिरामीलाई अस्पताल पुर्याउन समस्या भएको थियो ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले भन्नुभयो, “सडकखण्डमा जोखिम टरेको छैन, वर्षात् र साँझबिहान आवतजावत गर्दा सतर्कता अपनाउन अनुरोध गरेका छाँै, पहिराले अवरुद्ध हुनेबित्तिकै पन्छाउने प्रयास गरे पनि पहिरो नरोकिएपछि यातायात अवरुद्ध भएका थिए । पहिरो पन्छाएपछि आइतबार साँझदेखि बेनी-दरवाङ सडक खुलेको छ ।”

मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले वैकल्पिक सडकलाई तत्काल बजेटको माग गरिएको र अबदेखि यात्रुलाई सास्ती नहुनेगरी काम गर्न सम्बन्धित निकायमा अनुरोध गरिएको बताउनुभयो ।

सडकदेखि करिब दुई सय मिटरमाथि र एक सय ५० मिटर फराकिलो क्षेत्रमा पहिरो फैलिएको जनाइएको छ । उक्त सडकखण्डमा फापरखेत र बाङ्ग्रेपहिरो मुख्य चुनौती मानिन्छ । पश्चिम म्याग्दीको धवलागिरि, मालिका र मङ्गला गाउँपालिकालाई सदरमुकाम बेनीसँग सो सडकले जोड्छ ।

यसैबीच फापरखेतअन्तर्गतको बेनी-दरबाङ सडकको वैकल्पिक मार्ग खोजिने भएको छ । सांसद खमबहादुर गर्बुजाले उक्त सडकको वैकल्पिक मार्गको खोजी भइरहेको बताउनुभयो ।

उहाँले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत विभिन्न कार्यालय प्रमुखलाई जिल्लाको पहिरोका समस्या समाधान गरिदिन आग्रह गरेको जानकारी दिनुभयो । सडकमार्ग खोल्नुपूर्व नै पहिराको जोखिम थियो । पहिरो रोकथामका लागि दीर्घकालीन योजना नहुँदा यस खण्डमा वर्षायाममा सिधा यातायात सेवा प्रभावित हुने गरेको छ । (रासस)
---

 

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  ११:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update