Kath khabar
साउन महिनाको पहिलो सोमबार, पशुपतिनाथमा भक्तजनको घुइँचो

 

                    काठमाडौं, साउन ७ । आज साउन महिनाको पहिलो सोमबार, सौरमास अनुसार पहिलो साउने सोमबारको व्रत आजबाट सुरु भएको छ। पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनहरुको घुइँचो लागेको छ ।

साउन महिनाको पहिलो सोमबार वैदिक सनातन हिन्दू धर्मावलम्बीले व्रत बसी भगवान् शिवको विधिपूर्वक पूजा आराधना गरी मनाउँछन् । आराध्यदेव पशुपतिनाथ मन्दिर परिसरमा बिहानैदेखि नै भक्तजनको भीड लागेको थियो ।

साउने सोमबारका अवसरमा विशेषगरी महिलाले विधिपूर्वक व्रत बसेर शिवालयमा गई पूजा आराधना गर्छन् । साउन महिना र सोमबार भगवान् शिवको महीना एवं बार भएकाले आज बिहानै स्नान गरी शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने, अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ । 

आज घर घरमा महिलाले परिवारका सबै सदस्यको सुख, शान्ति एवं पारिवारिक समृद्धिका लागि व्रत बसी पूजा आजा गर्छन् । यस वर्ष साउनमा चार वटा सोमबार परेको छ ।  विशेष कामना सहित साउनको सोमबारको व्रत गर्नेहरुले अन्तिम सोमबार गोदान, पूर्णपात्र सहित कामना पूर्ण होस् भनी व्रत समापन गर्छन् ।

यसैगरी राजधानीको उत्तर पूर्वी भेगमा रहेको गोकर्णेश्वर महादेव मन्दिरमा पनि साउने सोमबारका अवसरमा भक्तजनको बिहानैदेखि भीड लागेको छ ।

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  १३:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update