Kath khabar
रास्वपाद्वारा विपद् व्यवस्थापन एवं पूर्वतयारीसम्बन्धी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता


              काठमाडौं, साउन ८ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभामा विपद् व्यवस्थापन पुनरावलोकन, बृहत् गुरुयोजना निर्माण तथा स्वास्थ्य सङ्कट पूर्वतयारीसम्बन्धी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएको छ ।

रास्वपाको प्रतिनिधिसभा सदस्य डा तोसिमा कार्कीले उक्त प्रस्ताव सोमबार सङ्घीय संसद् सचिवालयमा दर्ता गराउनुभएको हो । उहाँले आजै सभामुख देवराज घिमिरेलाई उक्त प्रस्तावबारे जानकारी गराउनुभएको थियो ।  

रास्वपाको संसदीय दलका प्रमुख सचेतक सन्तोष परियार, सचेतक निशा डाँगी सांसदहरू विराजभक्त श्रेष्ठ, डा चन्दा कार्की (भण्डारी), गणेश पराजुली, असिम शाह र विन्दबासिनी कङ्शाकारले उक्त प्रस्तावमा समर्थक हुनुहुन्छ ।  सांसद कार्कीले उक्त प्रस्तावमा मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८९ बनाए पनि प्रभावकारी हुन नसकेको उल्लेख गर्नुभएको छ ।

सांसद कार्कीले मनसुनको समयमा सम्भावित जोखिमको बलियो पूर्वतयारी हुन नसकेको बताउनुभयो । जसका कारण प्रकोपको समयमा ‘रेस्क्यू’ समूह तथा आवश्यक उपकरण र व्यवस्थापनको अभाव भएको उहाँले उल्लेख गर्नुभयो ।

विपद् रोकथाम, विपद् जोखिम न्यूनीकरण साथै विपद्पछिको पुनःस्थापना तथा व्यवस्थापनसँग सम्बन्धि बृहत गुरुयोजना बनाउन उक्त प्रस्तावमाथि छलफल हुनुुपर्ने रास्वपाका सांसदहरूले बताउनुभएको छ ।

“मनसुनजन्य महामारी र स्वास्थ्य जोखिमको बारेमा समेत पूर्व तयारी गर्ने, विपद् व्यवस्थापनमा तालिमयुक्त दक्ष जनशक्ति ‘र्‍यापिड रेस्क्यु टिम’ तयार गर्ने, हरेक स्वास्थ्य केन्द्रमा पर्याप्त स्रोत साधन र औषधीको भण्डारण गर्ने, क्षतिको जोखिम पूर्वानुमान गरी आम नागरिकलाई सुसूचित गराउने साथै समयमै पुनःस्थापन र प्रतिस्थापन गर्ने/गराउने लगायतको कामबारे छलफल गर्न अति आवश्यक रहेको हुँदा यो जरुरी महत्त्वको प्रस्ताव पेश गरेको छु”, प्रस्तावमा डा कार्कीले भन्नुभएको छ ।

उक्त सार्वजनिक महत्त्वको प्रस्तावमा तीन तहको सरकारले स्पष्ट कार्यक्षेत्र विभाजन गर्नुपर्ने र विपद्को विषयमा प्रतिक्रियात्मक मात्र नभई संसद्ले पूर्व सक्रियता देखाउनुपर्ने कारण समेत उल्लेख गरिएको छ । विपद् व्यवस्थापनको पाटोसँगै स्वास्थ्य सङ्कटको जोखिम न्यूनीकरणका लागि छलफल गर्नुपर्ने प्रस्तावमा उल्लेख छ ।

“आकस्मिक स्वास्थ्य सङ्कटको अवस्था हुन सक्ने हुँदा, बाढी पहिरोलगायत मनसुनजन्य प्राकृतिक प्रकोप विभिन्न रोग, सङ्क्रमण तथा माहामारी फैलने र स्वास्थ्य सङ्कट आउन सक्ने सम्भावनालाई मध्यनजर गरी नागरिकको स्वस्थ्यसम्बन्धी हक सुनिश्चित गर्नका निम्ति पूर्वतयारी गर्न आवश्यक छ”, उक्त प्रस्तावमा भनिएको छ ।
–––

 

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  १०:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update