Kath khabar
हवाई विभागबाट बगेको पानी बस्तीमा पस्दा नरेफाँटका विद्यालय र घरहरुमा क्षति

 

                   काठमाडौं, साउन ८ । सोमबार मध्यरातमा परेको भीषण वर्षातको कारण त्रिदेवीनगर, कोटेश्वरस्थित हवाई विभागको जमिनबाट बगेको लेदो सहितको हिलो पानी पस्दा काठमाण्डौ महानगरपालिका वडा नं ३२ नरेफाँटको एउटा निजी विद्यालय र केही घरहरुमा क्षति हुन पुगेको छ ।

वडा नं ३२ स्थित त्रिदेवीनगरको पूर्वतर्फ नागरिक उडड्यन प्राधिकरण अन्र्तगत हवाई विभागको स्वामित्वमा रहेको ४५० रोपनी क्षेत्रफलको खाली जग्गामा रातभरि परेको पानी जम्मा भएर बग्दा नरेफाँटमा रहेको युरो स्कुलको खेलमैदानको पर्खाल भत्केर क्षति भएको छ भने सो स्कुलको अधिकांश कक्षा कोठामा लेदो माटो र पानी जमेको छ ।

विगतका वर्षमा वर्षातको मौसममा पानी पर्दा धेरैजसो पानी सोही ४५० रोपनी खाली जग्गाले सोस्ने गर्थ्यो भने यो वर्ष हवाई विभागले गत असार महिनामा सो जग्गाको पश्चिमतर्फ ३ फिट चौडाईको करिव ५०० मिटर लामो कुलो बनाएर त्यहाँको पानी बस्तीबाट बग्ने सानो ढलमा मिसाएपछि समस्या देखिएको हो ।

प्राविधिक अध्ययन अनुसन्धान विना हवाई विभागको सो जग्गाको पानी कम क्षमताको र सानो आकारको ढलमा मिसाउँदा ओभरफ्लो भएर घरघरमा बाढी छिरेको नरेफाँटका स्थानीय विराज श्रेष्ठ बताउँछन् ।

राती साँढे ११ बजेदेखिको अविरल वर्षातका कारण स्थानीय नरेफाँटका बासिन्दा रातभरि सुत्न सकेका थिएनन् । एकाबिहानैदेखि उनीहरु आआफ्नो घर र विद्यालयमा छिरेको लेदो माटो र हिलो पन्छाउन व्यस्त थिए ।  

राती परेको पानी र बगेको लेदो माटोले पुर्याएको क्षति हेर्न बागमती प्रदेशका सांसद सुनिल केसी, वडा नं ३२ का वडासदस्य हरि बस्नेत, महानगर प्रहरी निरीक्षक जर्नादन अधिकारीको टोली नरेफाँट पुगेको थियो ।

हवाई विभागको उक्त ४५० रोपनी जग्गामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको राडारसँग सम्बन्धित उपकरण ‘भिओर डिएमई’ रहेको छ । विगत केही वर्षदेखि सो क्षेत्रको नेपाली सेनाको ब्रिजिङ्ग शाखाले सुरक्षा दिँदै आएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  १४:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update