Kath khabar
राजमार्गको पहिरो रोक्न त्रिपालको सहारा


                      बाजुरा, साउन ८ ।  अविरल वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध छन् । लगातारको वर्षाले पटक–पटक अवरुद्ध भएको साँफे–मार्तडी राजमार्गमा पर्ने बडीमालिका नगरपालिका–९ कारागार नजिकैको पहिरो रोक्न त्रिपालको सहारा लिइएको छ ।

पहिरो नरोकिएपछि जिल्ला प्रशासन कार्यालयले सोमबार सुरक्षाकर्मी लगाएर पहिरो गएको ठाउँमा त्रिपाल बिछ्याएको हो । अविरल वर्षाका कारण भिरालो जमिनमा पहिरो नरोकिएपछि जिल्ला प्रशासन र नेपाल रेडक्रस सोसाइटीको सहयोगमा पहिरोमाथि त्रिपाल विछ्याइएको हो ।

लगातारको वर्षाका कारण पहिरोले सडक अवरुद्ध भएपछि कुनै विकल्प नहुँदा त्रिपाल बिछ्याइएको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताउनुभयो । उहाँका अनुसार सडक डिजिभन कार्यालय साँफेबगरलाई पहिरो गएको ठाउँमा पर्खाल निर्माण गर्न अनुरोध गरेपनि वर्षाका कारण सम्भव नभएपछि त्रिपाल हालेर सडक जोगाउने कार्य गरिएको हो ।  सदरमुकामकै सडक बन्द हुँदा समस्या हुने भएकाले त्रिपालको सहारा लिएको प्रजिअ पौडेलले बताउनुभयो ।

सुदूरपश्चिम प्रदेशको गौरवको आयोजनाका रुपमा निर्माणाधीन उत्तरी चार पालिका जोड्ने मार्तडी– कोल्टी सडक पनि तीन सातादेखि अवरुद्ध छ । बाउली र अनाइ खोलामा पानीको प्रवाह बढेको र मार्तडी कोल्टी सडकको जिल्लीमा पहिरो जाँदा अवरुद्ध भएको उक्त सडक  खुलाउन सम्बन्धित निकायले प्रयास नगरेको स्थानीयको गुनासो छ ।
---

 

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  १७:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update