Kath khabar
कस्तो छ घाइते क्याप्टेन मनिष शाक्यको स्वास्थ्य अवस्था ?


                 काठमाडौं, साउन ९ । विमान दुर्घटनामा सौर्य एयरलाइन्सको व्यवस्थापन टोलीका चार वरिष्ठ अधिकारीको मृत्यु भएको छ । उनीहरु सबै सौर्य एयरलाइन्सका वरिष्ठ अधिकारी थिए ।

मृत्यु हुनेमा दुर्घटनामा परी मृत्यु हुनेहरूमा विमानका को–पाइलट सुशान्त कटुवाल, विमानमा सवार अमित मान महर्जन, सागर आचार्य, दीलिप वर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीप लाल जोशी, सर्वेश मरासिनी, श्याम विन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञ प्रसाद पौडेल, सन्तोष महतो, पुण्यरत्न शाही र यमनी नागरिक आरिफ रेडा रहेका छन् । दुर्घटनामा ज्यान गुमाउनेमध्ये एकै परिवारका तीनजना रहेको पनि बताइएको छ । जसअनुसार, एयरलाइन्सका प्राविधिक मनुराज शर्मा सहित श्रीमती प्रजा खतिवडा र छोरा अधिराज शर्मा रहेका छन् । दुर्घटनामा जहाजमा रहेका १९ यात्रुमध्ये १८ जनाको मृत्यु भएको हो ।

पाइलट मनिष रत्न शाक्यको भने घाइते अवस्थामा उद्धार गरिएको छ । उनको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) मा उपचार भईरहेको छ । उनलाई रगताम्य अवस्थामा नेपाली सेना र नेपाल प्रहरीको टोलीले उद्धार गरेर अस्पताल पुर्याएका थिए । उनको टाउको, अनुहार, आँखा, तथा हातखुट्टामा चोट लागेको छ । क्याप्टेन शाक्यले सामान्य कुराकानी गरिरहेको पारिवारीक स्रोतले बताएको छ । अस्पताल स्रोतका अनुसार आकस्मिक कक्षमा राखेर उनको उपचार भइरहेको छ ।

सन् २००९ देखि उडान सुरु गरेका क्याप्टेन शाक्य सौर्य एयरलाइन्सका चिफ अफ अपरेसन समेत हुन् । बुधबार बिहान ११:११ बजे काठमाडौंबाट पोखरा उडेको सौर्यको 9N-AMI/CRJ-200 कलसाइनको जहाज दुर्घटनामा परेको हो।

प्राविधिक परीक्षणका लागि पोखरा आउँदै थियो सौर्यको जहाज : प्रवक्ता सुवेदी

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता जसोदा सुवेदीले पोखरामा सुविधा सम्पन्न ‘ह्याङ्गर’ भएका कारण सौर्य एयरलाइन्सको जहाज प्राविधिक परीक्षण लागि आउन लागेको  जानकारी दिनुभएको छ  ।
 
काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्नेक्रमा सो एयरलाइन्सको ९ एन एएमई जहाज आज विहान  दुर्घटना भएको थियोे । दुर्घटनामा विमानमा सवार १८  जनाको निधन भएको छ । उक्त जहाज उड्नेक्रममा  त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेको थियो ।

“जहाजमा कुनै खराबी आएर नभइ निश्चित घण्टा उडेपछि नियमित तालिका अनुसार गर्नुपर्ने प्राविधिक परीक्षणका लागि पोखरा आउन लागेको थियो”, उहाँले भन्नुभयो, “पोखरामा रहेको सुविधासम्पन्न ह्याङ्गरमा राखेर जहाज परीक्षण गर्न एयरलायन्सका कर्मचारी र प्राविधिकहरु जहाजमा सवार रहेको जानकारी आएको छ ।” गत वर्ष काठमाडौँबाट पोखरा आउँदै गरेको यति एयरलाइन्सको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटना हुँदा ७२ जनाको ज्यान गएको थियो ।

 

 

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  १५:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update