Kath khabar
शिशु बेचबिखन मुद्दामा सिबिआईद्वारा नौ जनाविरुद्ध मुद्दा दायर

  

                     नयाँदिल्ली, साउन १० । केन्द्रीय अनुसन्धान ब्युरो (सिबिआई) ले नवजात शिशुहरूको बेचबिखन र खरिदको कथित मुद्दामा आरोपित नौ जनाविरुद्ध बुधबार आरोपपत्र दायर गरेको छ ।

अदालतले सबै आरोपितविरुद्ध कसुरको संज्ञान लिएको छ । अभियोग पत्रमा परेका आठ आरोपितलाई यसअघि सिबिआईले पक्राउ गरी न्यायिक हिरासतमा पठाएको थियो ।

सिबिआईले यस वर्ष अप्रिल ५ मा आइपिसीका विभिन्न दण्डात्मक प्रावधान र बाल न्याय (बालबालिकाको हेरचाह र संरक्षण) ऐन २०१५ अन्तर्गत बच्चाहरूको बेचबिखन र खरिदमा संलग्न आरोपितहरूको नेटवर्कविरुद्ध फौजदारी मुद्दा दर्ता गरेको थियो । अनुसन्धानका क्रममा हालसम्म पाँच नवजात शिशुको पनि उद्धार गरिएको छ ।
आरोपितहरू फेसबुक पृष्ठ र ह्वाट्सएप समूहजस्ता सामाजिक सञ्जाल प्लेटफर्ममा विज्ञापनमार्फत शिशु ग्रहण गर्न चाहने भारतभरका सन्तान नभएका दम्पतीहरूसँग जोडिएको अनुसन्धानले पत्ता लगाएको छ ।

उनीहरूले धोका दिएर र प्रलोभनमा पारेर आर्थिक रूपमा विपन्न अभिभावकहरूबाट शिशुहरू किनेका थिए । त्यसपछि उनीहरूले प्रतिशिशु चारदेखि छ लाख (भारतीय रुपैयाँ) सम्मको मूल्यमा खाँचोमा परेका दम्पतीलाई जन्म तथा धर्मपुत्रसम्बन्धी नक्कली कागजात बनाएर ठगी गर्ने र जैविक अभिभावकको नक्कलसमेत गरेका थिए ।

उपरोक्त निष्कर्ष सिबिआईले गरेको अनुसन्धान र त्यसले सङ्कलन गरेको प्रमाणका आधारमा भएको हो भन्ने जनतालाई स्मरण गराइएको छ । भारतीय कानूनअन्तर्गत निष्पक्ष सुनवाइपछि दोषी प्रमाणित नभएसम्म आरोपितहरूलाई निर्दोष मानिन्छ ।
---

 

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  १०:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update