Kath khabar
प्रधानमन्त्री नेतान्याहू अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिसँग भेट गर्दै

 

                 वासिङ्टन, साउन ११ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजा युद्धविराम सम्झौताको विषयमा आज अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिससँग भेट गर्ने हुनुभएको छ ।

अमेरिकी राष्ट्रपतिको निरन्तर सैन्य र राजनीतिक समर्थनका बावजुद हमासको अक्टोबर ७ को आक्रमणबाट सुरु भएको युद्धमा इजरायलको आचरणलाई लिएर राष्ट्रपति बाइडेन र प्रधानमन्त्री नेतान्याहूको सम्बन्ध तनावपूर्ण रहेको छ । 

नेतान्याहूले ओभल कार्यालयमा दिउँसो १ बजेको समयमा राष्ट्रपतिसँग वार्ता गर्नुहुनेछ । वार्तापश्चात दुबैले गाजामा रहेका अमेरिकी बन्धकका परिवारसँग भेट गर्नुहुनेछ ।

अमेरिकी राष्ट्रपतिले चुनावबाट पछि हट्ने आफ्नो निर्णयको व्याख्या गर्दै द्वन्द्वलाई सर्वोच्च प्राथमिकता राख्ने बताउनुभएको थियो ।"म गाजाविरुद्धको युद्ध अन्त्य गर्न, मध्यपूर्वमा शान्ति र सुरक्षा कायम गर्न र यो युद्धको अन्त्य गर्न सबै बन्धकको रिहाका लागि काम गरिरहनेछु", अमेरिकी राष्ट्रपतिले भन्नुभएको थियो । 

अमेरिकी प्रशासनका एक वरिष्ठ अधिकारीले बुधबार गाजा सम्झौता सम्बन्धी वार्ता अन्तिम चरणमा रहेको बताउनुभयो । नेतान्याहूले साँझ ४ः३० बजे उपराष्ट्रपति ह्यारिससँग पनि छुट्टै भेट्ने तयारी गर्नुभएको छ । 

नेतान्याहूले शुक्रबार फ्लोरिडास्थित मार–ए–लागोमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पसँग भेट गर्नुहुनेछ । पूर्व राष्ट्रपति ट्रम्पले बिहीबार बिहान इजरायललाई गाजामा आफ्नो युद्ध चाँडै समाप्त गर्न आग्रह गर्नुभएको थियो   ।

बाइडेनले अक्टोबर ७ देखि इजरायललाई दृढ समर्थनको प्रस्ताव राखेको छ। तर अमेरिकी राष्ट्रपतिले गाजा आक्रमणमा प्यालेस्टिनीको मृत्युको सङ्ख्यालाई लिएर इजरायलको बढ्दो आलोचना गर्दै आएको छ ।  अमेरिकी राष्ट्रपतिले मे महिनामा युद्धविरामको योजना सार्वजनिक गर्नुभएको थियो तर इजरायल र हमासबिच सम्झौता हुन नसक्दा दुई देशबीच द्वन्वद्व जारी छ । 

वासिङ्टनले पनि इजरायलका लागि आफ्नो ठुलो सैन्य समर्थन जारी राखेको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  १२:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update