Kath khabar
जापानमा भारी वर्षाका कारण तीन जना बेपत्ता, चार हजारभन्दा बढीलाई सुरक्षितस्थलमा स्थानान्तरण



                 टोकियो, साउन ११ । भारी वर्षापछि आएको बाढीले नदी किनारमा निम्त्याएको कटानबाट शुक्रबार जापानमा कम्तिमा तीन जना बेपत्ता भएको र हजारौँ स्थानीयलाई उक्त स्थानबाट सुरक्षितस्थलमा स्थानान्तरण गर्नुपरेको छ ।

होन्शुको यामागाता र अकिता प्रान्तका स्थानीय सरकारहरूले दुई लाखभन्दा बढी मानिसहरूलाई उक्त ठाउँ खाली गर्न सल्लाह दिएको अग्नि तथा विपद् व्यवस्थापन समितिले जनाएको छ ।

तीमध्ये कम्तीमा चार हजारलाई आश्रयस्थलमा उद्धार गरिएको सार्वजनिक प्रसारणकर्ता एनएचकेले जनाएको छ । यामागाताको दुईवटा नदी र अकितामा एउटा नदीमा आएको बाढीले कटान निम्त्याएको एनएचकेले प्रसारण गरेको फुटेजमा देखाइएको छ ।  

“बेपत्ता व्यक्तिलाई खोज्ने अभियानमा रहेका दुई प्रहरी अधिकारीसहित तीन जना बेपत्ता छन्,” एक स्थानीय अधिकारीले एएफपीलाई जानकारी गराउनुभयो । जापानको मौसम पूर्वानुमान निकायले यस हप्ता यामागाता प्रान्तको साक्ता र तुजामा भारी वर्षाको अनुमान गर्दै त्यस स्थानका लागि उच्च आपतकालीन चेतावनी जारी गरेको छ ।

जापान मौसम विज्ञान विभागले शुक्रबार जारी गरेको विज्ञप्तिमा सम्भावित भूस्खलन र बाढीबाट सतर्क रहन नागरिकलाई आह्वान गरेको छ । जापानले हालका वर्षहरूमा देशका धेरै भागमा अनपेक्षित भारी वर्षाको सामना गरेको छ ।
---

 

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  १४:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update